
काठमाडौं, कात्तिक २३ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीतर्फ जानुभएको छ ।
मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली जानुभएको नेपाली सेनाका प्रवक्ता ले जानकारी दिएको छ ।
भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको हो ।
भ्रमण दलमा प्रधान सेनापतिसहित नौं सदस्यीय टोली रहेको सेनाले जनाएको छ ।
प्रधान सेनापति शर्मालाई यही कार्तिक २४ गते भोलि बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रधान सेनापति शर्माले भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम तय भएको पनि नेपाली सेनाले जनाएको छ ।

शर्माले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग भेट गर्नुहुनेछ ।
शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने पनि सेनाले जनाएको छ । शर्मा कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्