२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दुई सय गुणा बढी राजस्व संकलन गर्ने : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं, कात्तिक २३ । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा उहाँले उक्त दाबी गर्नुभएको हो ।

मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनुभएको हो । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको उहाँले बताउनुभयो । उहाँले राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतीका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिनुभयो । महामारीका कारण यो नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन संख्यामा मात्र मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् ।

नाकाबाट अधिकांशत तयारी कपडा अनि स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका वस्तु भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।

नाकाको निरीक्षण तथा अवलोकनकालागि सभामुख अग्नीप्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटालगायत पनि तातोपानी नाका पुग्नुभएको थियो ।