
सिन्धुली, कात्तिक २४ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सदरमुकाममा सार्वजनिक कार्यक्रम गर्न निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा बिहान ११ बजेदेखि राती १२ सम्मका लागि तोकिएको छ ।
एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाउने कि नबनाउने भन्ने विषयमा स्थानीयबीच विवाद बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
कमलामाई नगरपालिकाले सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन तथा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा पोखरेललाई प्रमुख अतिथि बनाएकामा अर्को पक्षले विरोध गरेपछि विवाद बढेको हो ।
पोखरेललाई मुख्य अतिथि बनाउने विषयमा विपक्षी नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । यद्यपि, प्रशासनका कार्यालयले उक्त कारण खुलाएको भने छैन ।
कार्यक्रममा सहभागी हुन पोखरेल मंगलबार नै सिन्धुलीगढी पुगेपनि सत्ता पक्षीय दलका कार्यकर्ताले आपत्ति जनाएका हुन् ।
सहमति जुटाउन प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सर्वदलीय बैठकमा राखे पनि सहमति नबनेपछि निषेधाज्ञा लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्