२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवालाई साक्षी राख्दै सिटौलाले भने–टिमसहित कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु


0
Shares

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनमा आफूले टिमसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

पटक पटक सारिएको १४ औं महाधिवेशनको पछिल्लो मिति नजिकिँदै गर्दा नेता सिटौलाले आफूले मात्र नभई समूह नै बनाएर उम्मेदवारी दिने प्रष्ट गर्नुभएको हो ।

जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालाई साक्षी राख्दै सिटौलाले आफ्नो समूहको उम्मेदवारीबारे प्रष्ट्याउनुभएको हो ।

१३ औँ महाधिवेशनमा पनि सभापति पदमा उम्मेदवार दिनुभएका सिटौलाले पहिलो चरणबाटै बाहिरिएपछि दोस्रो चरणमा देउवालाई सघाउनुभएको थियो ।

आउँदो कार्यकालका लागि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएका र आफ्नो विपक्षमा रहेकाहरु एकै ठाउँमा नउभिउन् भन्ने रणनीतिमा रहनुभएका देउवालागि सिटौलाको उम्मेदवारी घोषणा ठूलो सहयोगी बन्ने देखिएको छ ।

पछिल्ला दिनमा देउवासँगै निकट देखिनुभएका सिटौलाले देउवालाई नै साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दा १३ औं महाधिवेशनमा उहाँको शिविरबाट महामन्त्रीको उम्मेदवारी दिनुभएका नेता गगन थापा साथमा हुनुहुन्न ।

थापा यसपटक जसरी पनि सभापतिमा नयाँ अनुहार ल्याउनुपर्ने भन्दै देउवा ईतर शिविरमा हुनुहुन्छ । सिटौलाले महाधिवेशनको कुनै तालिका पनि अब यताउता गर्न नपाइने बताउनुभयो ।

कार्यक्रममा सिटौलाले गणेशमानको आदर्शलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।