
काठमाडौं, कात्तिक २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने आकांक्षा भए चुनाव लडेर आउन चुनौती दिनुभएको छ ।
गणेशमान स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंको शान्तिबाटिकामा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिनुभएको हो ।
आफूले प्रजातन्त्रबाहेक सबै सुम्पिन तयार छु भन्दा ज्ञानेन्द्र शाहले जेलमा कोचेको स्मरण गर्दै देउवाले भन्नुभयो, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो ।’
वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्न चेतावनी दिँदै देउवाले भन्नुभयो, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भनेँ, तर मलाई जेलमा थुनियो, त्यसकारण एकाएक जनता तातिए, प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यहीँ पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन्, त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन ।’
शासन गर्ने भए चुनाव लडेर आउने सुबिधा प्रजातन्त्रमा सबैलाई भएको भन्दै देउवाले थप्नुभयो, ‘उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ।’
संविधानमा अरुको झै आफ्नो पनि केही असन्तुष्टि रहेको तर त्यसलाई सुधार्दै जाने भन्दै उहाँले भन्नुभयो, ‘यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ, सबैलाई अटाएको छ, केही समस्याहरु आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराउँदै देउवाले निर्वाचन आयोगले वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित गराउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्