
काठमाडौं, कात्तिक २४ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
प्रदेश–१ को प्रदेशसभा बैठक कात्तिक ३० गते मध्यान्ह १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईको तयारी छ । प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताउनुभएको थियो । तर प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिने तयारी गरेको बताइएको छ । विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रदेशसभा सचिवायलमा विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गर्नुपर्ने प्रावधान छ ।
दुई दिनअघि प्रस्ताव दर्ता गरेर ३० गते विश्वासको मत लिने तयारी रहेको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ । हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तापक्षीय पाँच दलीय गठबन्धनका ५० जना सदस्य छन् ।
प्रमुख प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् । मुख्यमन्त्री राईले गठबन्धनमा रहेको दल नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री बनाएका छन् ।
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्