
काठमाडौं, कात्तिक २४ । छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । तराईमा सीमित यो पर्व केही वर्षयता राजधानीलगायत पहाडी क्षेत्रमा उत्साहपूर्वक मनाउन थालिएको छ ।
छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी गुहेश्वरी र कमलपोखरी पुगेर त्यहाँ बनाइएको छठ घाटमा राखिएको छठी माता र सूर्यदेवको पूजाअर्चना गर्नुभयो ।
अघिल्लो वर्ष कोरोना संक्रमणका कारण छठ पर्व हर्षोल्लासपूर्वक नपाइएकाले यस वर्ष भने छठ मनाउन गुहेश्वरी, थापाथलीस्थित बागमती किनार, कमलपोखरी क्षेत्रमा भव्य तयारी गरिएको छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
लोककथनअनुसार नै सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्