५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


मंसिर १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट, प्रदेश १ र २ मा लागू हुने छैन


0
Shares

दिपक श्रेष्ठ
काठमाडौं, कात्तिक २५ । आगामी मंसिर १ गतेबाट ५ वटा प्रदेशका यातायात कार्यालयमा दर्ता हुने नयाँ सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने भएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य लागू हुने उल्लेख छ ।

यातायात व्यवस्था विभागका अनुसार १ र २ नम्बर प्रदेशको नाम नटुंगिएकाले ती प्रदेशमा भने हाल यो नियम लागू हुने छैन । मंसिर १ नयाँ दर्ता, फागुन १ सवारी नामसारी र जेठ १ गतेबाट नवीकरण गरिने सवारीमा अनिवार्य इम्बोस्ड नम्वरप्लेट लागू हुनेछ ।

हालसम्म करिब १३ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बरप्लेट जडान भएको छ । जसमध्ये ६५ वटा ठूला सवारीसाधन, ९ हजार ४८२ मध्यम तथा साना सवारीसाधन र ३ हजार ३६१ वटा दुई पांग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको विभागले जनाएको छ । २०७३ जेठ १७ मा भएको ठेक्का सम्झौताअनुसार अहिलेसम्म २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने हो  ।

मुद्दा मामिलाले गर्दा काम रोकिएको र अन्य कुनै समस्या नरहेको विभाग बताउँछ । बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले संयुक्त यसको ठेक्का लिएका छन्, जसको म्याद गत असारमा साढे दुई वर्ष थपिएको छ ।थपिएको समयभित्र ती कम्पनीले सबै इम्बोस्ड नम्बर प्लेट ल्याइसक्नुपर्नेछ । सरकारले ३ करोड ६२ लाखरुपैयाँ कम्पनीलाई भुक्तानी गरिसकेको छ । विभिन्न बहानामा भ्यागुताको धार्नी बनेको इम्बोस्ड नम्बरप्लेट जडान अभियान अझै शंकाको घेरामा छ ।