२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


ग्यास लाइन काट्ने बेलारुसको धम्की, ग्यासको भाउ चर्किने आशंका


0
Shares

एजेन्सी । बेलारुस हुँदै युरोपमा आप्रवासीहरुको ओइरो लाग्ने आशंका बढिरहेको बेला बेलारुसले आफू विरुद्ध थप नाकाबन्दी लगाए युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ ।

विभिन्न देशबाट बेलारुस पुगेका आप्रवासीहरुलाई पोल्याण्ड, लिथुआनिया र लाट्भियातिर जान प्रोत्साहित गरेको भन्ने युरोपेली युनियनको आरोप खेपिरहेको बेलारुसले ग्यास आपूर्ति बन्द गर्ने धम्की दिएको हो ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले आफूहरुमाथि थप नाकाबन्दी भए त्यसको जवाफ दिने बताउनुभएको छ । “हामीले युरोपलाई तातो दिईरहेका छौं तर उनीहरु हामीलाई धम्क्याउँदैछन्– लुकासेन्कोले भनेका छन्–हामीले ग्यास बन्द गरिदियौं भने के हुन्छ ? पहिल्यै सोच ।” युरोपेली देशहरुमा प्राकृतिक ग्यासको आपूर्ति मूख्यगरी रुस र उसका छिमेकी देशहरुबाट हुन्छ ।

तर रुस हुदै युरोप पुग्ने ग्यासलाइनको बाटो भने बेलारुस हो । बेलारुसको धम्कीपछि युरोपमा ग्यासको आपूर्तिमा संकट आउन सक्ने र मूल्य चर्किने आशंका गरिएको छ । युरोपेली युनियनले लुकासेन्कोको धम्कीबाट नतर्सिन भने पनि विश्लेषकहरुले भने धम्कीलाई गम्भीर रुपमा लिन सुझाव दिएका छन् ।

बेलारुसलाई थप कठीन अवस्थामा धकेल्ने हो भने उसले जनाउने अवश्यंभावी प्रतिक्रियाले युरोपलाई समस्यामा पार्नसक्ने चेतावनी स्वतन्त्र विश्लेषकहरुले दिएका छन् । युरोपेली युनियनले आगामी सोमबारसम्ममा बेलारुस विरुद्ध थप नाकाबन्दी घोषणा गर्ने संभावना रहेको बताइएको छ ।

खाशगरी आप्रवासीहरु बोकेका विमानहरुलाई बेलारुस जानबाट रोक्न आकाश मार्ग नदिने संभावना रहेको छ । रुसी विमान कम्पनी एरोफ्लोटका विमानहरुलाई बेलारुस जानबाट पनि रोक्ने युरोपको योजना रहेको बताइएको छ । टर्किस एअरलाइन्सले इराक, सिरिया र यमनबाट बेलारुस जानेहरुका लागि टिकट विक्री बन्द गरिसकेको छ भने इराकले बेलारुप पुगेका आफ्ना नागरिकहरुलाई फर्काउन विमानहरु पठाउने बताएको छ ।