
काठमाडौं, कात्तिक २८ । न्यायको मन्दिर मानिएको न्यायालय नै भिडन्तस्थलका रुपमा विकास हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको मूलगेटमा लगातार धर्ना दिइरहँदा राणाले पनि आफ्नो शक्ति प्रदर्शन गर्न थाल्नुभएको छ ।
यसैक्रममा आइतबार अदालत खुल्ने समयमा राणाका पक्षमा नाराबाजी गर्दै हुलका हुल युवाहरु सर्वोच्च अदालत परिसरमा ओइरिएका छन् ।
मोटरसाइकलमा आएका ती युवाहरुले न्यायमा अवरोध गर्न नपाइने भन्दै बार एशोसिएशनले गरेको आन्दोलन विरुद्ध नाराबाजी गरेका थिए ।

त्यसक्रममा सर्वोच्च अदालतको गेटमै भिडन्त हुने अवस्था सृजना भएको हाम्रा संवाददाताले त्यहाँबाट जानकारी दिएका छन् ।

युवाले मोटरसाइकलको हर्न बजाउँदै बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ । मोटरसाइकलमा आएका युवाहरु भने लटका लट गर्दै आएका हुन् । शुक्रबार पनि राणाका पक्षमा प्रदर्शन गर्न पुगेका केही महिला र वकीलबीच झडप भएको थियो भने प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो ।

यसअघि, बारका पक्षमा रहेका वकीलहरुले मूलगेटमै धर्ना दिएर प्रधानन्यायाधीशलाई प्रवेशमा अवरोध गरेपछि राणा भने अर्को गेट प्रयोग गर्दै अदालत प्रवेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्