१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाजवादबारे कर्मचारीले जान्नुपर्छ : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं, कात्तिक २८ । अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका बारे कर्मचारीले जान्नुपर्ने बताउनुभएको छ ।

राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालिन तालिमको आइतबार उद्घाटन गर्दै मन्त्री शर्माले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र कसरी हुन्छ भन्नेबारे कर्मचारीले जान्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी पनि जिम्मेवार रहेको बताउनुभयो । उहाँले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्ने र व्यक्तिको कमाईका आधारमा कर सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने बताउनुभयो । प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन भन्दै उहाँँले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।