२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एकीकृत समाजवादीको निष्कर्ष : शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुग्यो


0
Shares

काठमाडौं, कात्तिक २८ । नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दल र सरोकारवाला पक्षबीच एकीकृत धारणा बनाउन अपिल गरेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकालेको छ । समस्या समाधानका निम्ति सबै राजनीतिक दल र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाको एकिकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले पार्टी कार्यकर्ताहरुलाई विपद जोखिम न्युनिकरण सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न, विपदको बेलामा खोज, उद्धार तथा राहत सहयोग प्रभावकारी रुपमा सञ्चालन गर्न तथा जनस्वयं सेवक बनाइ परिचालन गर्न निर्देशन पनि दिएको छ ।

बैठकले हालै गठन भएको पाँच दलीय गठबन्धन समन्वय समितिलाई स्वागत गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन सघाउने तथा गठबन्धनलाई निर्वाचनसम्म लैजान यसले शसक्त भूमिका खेल्न पहलकदमी लिनेमा विश्वास व्यक्त गरेको छ ।

एकीकृत समाजवादीले हालै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्याँसमा गरिएको मुल्यवृद्धि यथाशिघ्र फिर्ता गर्न पनि सरकारसँग माग गरेको छ ।