यसकारण सभामुखमा शिवमाया अयोग्य ! राजीनामा दिएर बचाइदेऊ सामन्ती विरासत

news

माननीय डा. शिवमाया तुम्बाहाङफे 

उपसभामुख, प्रतिनिधिसभा,

नयाँबानेश्वर काठमाडौं । 

माननीय डा. शिवमाया तुम्बाहाङफेज्यू, यो तपाईंलाई नमागेको सल्लाह हो । तपाईं करिब दुई वर्षदेखि मुलुकको उपसभामुख हुनुहुन्छ । सभामुखमा कृष्णबहादुर महरा रहँदासम्म तपाईंको भूमिकालाई आम नागरिकले खासै ख्याल गरेका थिएनन् । तपाईं पनि सभामुख महरा नभएका बेलामा आइपर्ने बाधा अड्काउ फुकाउको काममै सीमित हुनुहुन्थ्यो ।

संयोग, अहिले मुलुक सभामुखविहीन बनेको छ । आफ्नै सचिवालयकी कर्मचारीलाई यौन दुराचार गरेको आरोपमा सभामुख महरा खोर परेपछि राज्यको महत्वपूर्ण अंग व्यवस्थापिकाअन्तर्गतको प्रतिनिधिसभा २०७६ असोज १४ गतेदेखि नेतृत्वविहीन छ । साढे तीन महिनासम्म संसदको तल्लो सदन नेतृत्वविहीन हुँदा संसदका काम–कारबाही ठप्प भएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुख हत्याउन लिगलिगे दौड चलेको लामै भैसक्यो । महराबाट गुमेको पद हत्याउन नेकपाभित्र गूटीय चालबाजी चलिरहेको छ । र, आफूलाई दिग्गज ठान्ने पुरुष नेताहरु तँछाड–मँछाड गरिरहेका छन् ।

संवैधानिक बाध्यताका कारण नेकपाले सभामुख पाउन उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यद्यपि, यस प्रकरणमा संविधानको बलात्कार त नेकपाले यसअघि गरिसकेकै हो । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालको चाहना पूरा गर्न तपाईंले पदबाट राजीनामा दिनुपर्ने हुन्छ । तर, तपाईं आफैंलाई यो पदमा पुर्‍याउने नेता र पार्टीको निर्देशन नै मान्नुहुन्न । तपाईंले कुरा नै बुझ्नु भैरहेको छैन ! त्यसका केही कारण छन् । जसलाई तल चर्चा गरौं ।

खुरुक्क राजीनामा गर्नोस्, खै कुरा बुझेको ?

तपाईंले खुरक्क नेता र दलको चाहनाबमोजिम राजीनामा गर्नुपर्छ । किन नगर्ने अड्डी कसेर बसिरहनु भएको छ ? किन अनेक शर्त झिकिरहनु भएको ? किनकि, तपाईं निम्न कारणले त्यस पदका लागि योग्य हुनुहुन्न नि त !

१. पहिलो तपाईं महिला । त्यसमा पनि एउटा क्रान्तिकारी बाबुकी छोरी । विद्रोहको चेतनाले वर्गीय मुक्तिका लागि आवाज उठाउने मान्छे । जनजाति पृष्ठभूमि । त्यसमा पनि पूर्ण शिक्षित । अनि, कसरी पुग्छ सभामुख बन्ने योग्यता ? बढी शिक्षित हुनु तपाईंको अयोग्यता हो । साक्षर वा ल्याप्चे छाप नै रहनुपर्थ्यो नि !

२. हामी पुरुष प्रभुत्ववादी समाजमा छौं । समाजका हरेक कित्ता–कित्तामा पुरुषको हैकम छ । तपाईंकै पार्टीभित्र हेर्नोस् न, आफूलाई कम्युनिष्ट दावा गर्ने पार्टीको मूल निर्णय गर्ने निकाय सचिवालय कस्तो छ ? एउटी महिला नेतृसम्मलाई सचिवालयमा स्वीकार्न नसक्नेहरुले तपाईंलाई देशकै कानुन बनाउने निकायको उच्चासनमा रहेको कसरी सहून् त ! तपाईंले जुन सकसबाट यो हैसियत र योग्यता बनाउनु भयो, त्यो नै अपाच्य भयो सायद ।

३. आदिवासी/जनजाति, मधेसी, दलित, महिलालगायतका मुद्दा त फगत दलीय स्वार्थ पूरा गर्ने औजार न हुन् । औजारको काम त्यही सीमित हुनुपर्‍यो नि ! त्योभन्दा माथिको हैसियत खोज्ने हो र ? यस्तै मुद्दा उचालेर राजनीतिक शक्ति आर्जन गरी एमालेमा समाहित भएका माओवादीहरुले कसरी छाडिदिए यी विषयलाई ? कसरी पद, शक्ति र सत्तालाई आफ्नै परिवार र आसेपासे वरिपरि सीमित गरिएको छ, देख्नुहुन्न ?

४. एउटा भनाइ छ, आँखा नदेख्नेहरुको समाजमा पुख्दा आँखा नदेखेको र खुट्टा नचल्नेहरुको समाजमा पुग्दा खुट्टा टेक्न नसकेको भान पार्नु रे ! नत्र सद्दे देखे भने उसलाई पनि उस्तै बनाइदिन्छन् रे ! कतै तपाईं समकालीन मित्रहरुको भन्दा फरक योग्यताका कारण पो योग्य नहुनुभएको हो कि ?

५. अर्को यो मुलुक त भागबण्डाको हो नि ! जमिन र सम्पत्तिमात्र होइन, सत्ता र शक्ति पनि त भागबण्डा भएको छ । एमाले र माओवादीबीच एकता भएर नेकपा बनाइएको त राज्यको स्रोतमाथि काले–काले मिलेर खाउँ भाले गर्न पो हो त । अनि, कहाँ छाडिन्छ आफ्नो भागमा परेको कुरा ? पूर्वमाओवादीहरुले उसै सभामुख आफ्नो भागमा परेकाले छाडिन्न भनेका हुन् र ? अनि, पूर्वएमालेहरुले एकलौटी लुटिरहेको कसरी हेर्ने ? यो प्राकृतिक सिद्धान्त र पार्टी एकताको मूल मर्मविपरीत हुँदैन ? 

६. अनि, मूल कुरा नेताहरुले भनेअनुसार खुरुक्क राजीनामा नगरेर प्रश्न गर्ने ? हाम्रा भीमकाय नेताहरुलाई प्रश्न गर्ने ? औंला ठड्याउने ? यो आँट, हिम्मत कहाँबाट आयो ? पुरुष हैकमवादी सामन्ती समाज, संस्कृतिको ठाडै अवज्ञा गर्ने ? यो सहिन्न । त्यसमा पनि दुईतिहाइनजिकको सरकार चलाउने प्रधानमन्त्रीले दिएको निर्देशन नमान्ने ?

७. महिला उत्थानका लागि गैरसरकारी अभियानमा लागेर काम गरेको तपाईंको अडानमा एनजीओहरुले समर्थन गरे । डलरवादीको समर्थन लिएर पार्टी सत्तालाई लल्कार्ने ?

८. अझै नपुगेर विपक्षी कांग्रेसकोसमेत समर्थन लिन खोज्ने ? यो त सह्य भएन । अनि, कसरी तपाईं सभामुखका लागि योग्य हुनुहुन्छ र यो पदमा पुर्‍याउनु त ?

९. अर्को मुख्य कुरा त दलीय व्यवस्थामा सांसद भनेका त पेरुङ्गो बाँधेका जनावर न हुन् । उनीहरुले अलग्गै चेतना, विवेक र निर्णय त कहाँ लिन पाउँछन् र ? दलका कथित शीर्ष नेताले जे निर्णय लिन्छन्, त्यसैमा डोरिनै पर्दछ नि ! स्वविवेक भन्ने कहाँ प्रयोग गर्न पाइन्छ ? त्यसैले तपाईं विवेक प्रयोगको कुरा गर्ने ? दलको डोरीमा नारिएर उपसभामुख भएपछि पदको निष्पक्षताको कुरा गर्ने ? जुन देशको राष्ट्रपति नै दलीय दलदलबाट माथि उठ्न सक्दैन, त्यो देशमा तपाईंका अडान कसाईंका अघिल्तिर बोकाको रोदन मात्र ठहर्ने नै छ । 

कवि शिरोमणि लेखनाथ पौडेलले उसै भनेका थिए र, ‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसंमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित । ‘कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।’ !!

–राजन कुईंकेल ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...