‘नयाँदिल्लीमा ६५ लाख चोरेर फरार’ दुई नेपाली रकमसहित पक्राउ

news

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस २९ । कैलालीमा ६५ लाख भारतीय रुपैयाँसहित तीनजना पक्राउ परेका छन् ।

चोरी आरोप

चोरीमा संलग्न रहेको आरोपमा श्रीमान्–श्रीमतीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना

भारतको राजधानी नयाँदिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट नगद र गरगहना चोरी भएको थियो । यो गएको मंसिर ४ गतेको घटना थियो ।

आशंका

त्यसमा नेपाली कामदारको संलग्नता रहेको आशंका गरियो । सोको जानकारी जिल्ला प्रहरी कार्यालय कैलालीलाई आयो ।

पहिले एकजना पक्राउ

त्यसपछि खटिएको प्रहरीले सुरुमा कैलालीको गौरीगंगा नगरपालिका–२ की बिन्दा थापालाई केही रकमसहित पक्रेको थियो ।

उनलाई यही पुस १४ गते गौरीगंगास्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बयानपछि श्रीमान्–श्रीमती फन्दामा

थापाले दिएको बयानका आधारमा थप दुईजनालाई ६५ लाख भारुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

बाजुराको बूढीगंगा–१ का २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मनाकुमारी खड्कालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

गौरीगंगा–२ बाट सोमबार नियन्त्रणमा लिइएका उनीहरुलाई मंगलबार सार्वजनिक गरिएको हो ।

घटना सिलसिला

प्रहरीकाअनुसार बिन्दा थापासित जयसिंह र उनकी श्रीमतीको आफन्त नाता पर्छ ।

बिन्दा गौरीगंगा–२ निवासी हुन् । उनलाई जयसिंह र उनकी श्रीमतीले एउटा टिनको बाकस लुकाएर राख्न दिए । बाकसमा के थियो, उनलाई ‘भनिएन’ । बाकसलाई सुरक्षित र गोप्य तरिकाले राख्नमात्र भनियो ।

खाटमुनि खाल्टो, खाल्टोभित्र बाकस, बाकसभित्र ६५ लाख

बिन्दाको कच्चीघरमा रहेको कोठाभित्र खाटमुनि खाल्टो खनेर सो बाकस राखियो । टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी लुकाइ–छिपाइ राखेको अवस्थामा ६५ लाख भारु बरामद गरिएको प्रहरीले जनाएको छ ।

नयाँदिल्लीमा कामदार

पक्राउ परेका श्रीमान्–श्रीमती चोरी भएको भारतीय नागरिकको घरमा कामदारको रुपमा विगत लामो समयदेखि कार्यरत् रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...