१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणकलाई विश्वास गर्न तथ्यांक विभागको आग्रह


0
Shares

काठमाडौं, कात्तिक ३० । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनामा व्यक्ति तथा संस्थाले आफ्नो संस्थागत निर्णय अनुसारकै उत्तर दिन विभिन्न अभियान चलाइनु गलत भएको बताएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले गणकलाई विश्वास गर्न र सही तथ्यांक टिपाउन समेत आम सर्वसाधारणमा आह्वान गरेको छ । गणकबाट सही तथ्यांक प्राप्त गर्न नसकिने भन्ने भ्रम फैलाएर संस्थागत निर्णय अनुसारकै उत्तर दिन भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएपछि विभागले यस्तो अनुरोध गरेको हो ।

जनगणनाका प्रश्नावलीलाई अन्तिमरूप दिन विभिन्न जातजाति, भाषिक, धार्मिक, लैङ्गिक, अपाङ्गता तथा अन्य सरोकारवाला समुदाय÷संघसंस्था र विषय विज्ञहरुसँग पटक–पटक छलफल गरिएको विषयलाई समेत विभागले स्मरण गराएको छ । ती छलफलबाट प्राप्त सुझावमा विषयगत समिति र प्राविधिक समितिमा पनि यथेष्ट मात्रामा छलफल गरी अन्तिम रूप दिइएको विभागले प्रष्ट पारेको छ ।

प्रश्नावली निर्माण लगायत अन्य गणना कार्य गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास समेत अवलम्बन गरिएको विभागले उल्लेख गरेको छ । जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आज आदिवासी जनजाति संगठनहरूले तथ्यांक विभागको ध्यानाकर्षण गराउँदै प्रश्नावलीमा रहेका हेलचेक्र्याइँ सच्याउन माग गरेका छन् ।

‘ केन्द्रीय तथ्यांक विभाग तथ्यांक संकलन, प्रशोधन, प्रकाशन, वितरण तथा भण्डारण गर्ने राज्यकै एक स्वतन्त्र निकाय भएकाले यसले कसैको पनि पक्ष वा विपक्षमा काम नगर्ने सरोकारवाला सबैलाई थाहा भएकै विषय हो,’ विभागको विज्ञप्तिमा उल्लेख छ ।

गणकहरूबाट तथ्यांक संकलनका क्रममा केही प्रश्नहरूमा सुन्नमा आएका केही नकारात्मक कुराहरूको सन्दर्भमा यसको सत्य÷तथ्य बुझी आवश्यक निर्देशन दिने काम विभागले गरिरहेको भन्दै यथार्थ भन्दा फरक आफ्नो व्यक्तिगत वा संस्थागत निर्णय अनुरूपको उत्तर उत्तरदातालाई दिन अभिप्रेरित गर्नाले सही तथ्यांक संकलन गर्न नसकिने विभागको भनाइ छ ।