
काठमाडौं, कात्तिक ३० । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मंगलबार नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको देशैभर आशिंक प्रभाव पर्यो ।
बन्दका कारण सडकमा सार्वजनिक यातायात कम चले भने सुरक्षाको कारण देखाउँदै अधिकांश शिक्षण संस्था बन्द भएका थिए ।
उपत्यकामा बन्दको प्रभाव सडकमा केही मात्रामा देखिए पनि बजार र पसल भने सदा झैं खुलेका थिए । बन्दको उल्लंघन गरेको भन्दै बन्दकर्ताले ललितपुरमा साझा बसमा तोडफोड गरेका छन् ।
जर्बजस्ती बन्द गराउन खोज्ने तथा तोडफोडमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चितवनमा पनि बन्द गराउन खोज्ने विप्लव नेतृत्वको नेकपाका १६ जना कार्यकर्ता पक्राउ परेका थिए ।
यता, बन्द गर्दै हिडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता काभ्रेको बनेपाबाट पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दाङमा १८ जना बन्दकर्ता पक्राउ परेका छन् । तनहुँमा पनि बन्द गराउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीमा बन्दका कारण भारतबाट बेलहिया नाका हुँदै भित्रिएका यात्रुहरु अलपत्र परेका थिए । बन्द गराउँदै हिडेका बन्दकर्तालाई साँझ नै रिहा गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्