'समृद्ध नेपाल सुखी नेपाली'को सरकारी लक्ष्य प्राप्त गर्न योग र ध्यान आवश्यक : मन्त्री पोखरेल

news

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको सरकारी लक्ष्य प्राप्त गर्न योग र ध्यान आवश्यक रहेकोमा जोड दिएका छन् ।

पाँचौ राष्ट्रिय योग दिवसको अवसरमा आज मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्राचिन विद्याको रुपमा रहेको योगले तन र मनलाई शान्त बनाउने भएकोले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

व्यक्ति स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भएकाले अनावश्यक चिन्ता र विचारबाट मुक्त भई सकरात्मक सोच,भावना जगाउन योगलाई बढावा दिनु पर्ने उनको भनाइ थियो ।

मन्त्री पोखरेलले योग र ध्यानलाई जीवनपद्धति बनाउन पनि सबैसंग आग्रह गरे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदाचार, अनुशासन र असल चरित्र निर्माणको मार्ग अवलम्बन गर्न योग सहायक हुने बताए ।

स्वस्थ्य र दीर्घजीवन जिउन योगलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाई थियो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले योगले मानसिक शान्ति तथा उच्च आध्यात्मिक चेतना विकास गर्ने बताए । 

कार्यक्रममा योग गुरुहरुले योगलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले नियमित योगबाट रोग लाग्ने जोखिम ६० प्रतिशत न्युनिकरण गर्न सकिने भन्दै यसलाई राष्ट्रिय जीवनको पूर्वाधार बनाउन सुझाव दिएका थिए ।

यस बर्ष योग दिवसको  नारा राष्ट्रिय एकता योगको सान्दर्भिकता रहेको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...