२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सरकारको ध्यान राजश्व संकलनमा केन्द्रित हुँदा कर प्रणाली चुस्त भएन : अध्यक्ष गोल्छा


0
Shares

काठमाडौं, मंसिर १ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर संकलनलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनभुएको छ ।

कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले सरकार राजश्व संकलनमा मात्र बढी केन्द्रित भएकाले समग्र कर प्रणाली चुस्त हुन नसकेको आरोप लगाउनुभयो । सरकारको ध्यान कसरी राजश्व बढी संकलन गर्ने भन्नेमा बढी केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी हुन नसक्दा विकास खर्च बढ्न नसकेको उहाँको ठहर छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दायरा बढाउन बैंकिङ प्रणाली भन्दा बाहिर बसेर अर्बौंको कारोबार गरिरहेका व्यवसायीलाई करको दायरामा ल्याउन सुझाब दिनुभयो ।

नेपाल उद्योग परिसंघका कार्यकारी अध्यक्ष कृष्णप्रसाद अधिकारीले विगत २४ वर्ष देखि बहुदर प्रणाली लागु गर्न माग गर्दै आएपनि अहिलेसम्म लागु हुन नसकेको गुनासो गर्नुभयो । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका कार्यबाहक अध्यक्ष डम्बरदेब अर्यालले सरकारले ग्रामिण उद्योगलाई कर मुक्त क्षेत्रको रुपमा घोषणा गर्ने नीति लिनुपर्ने बताउनुभयो ।

ग्रामिण उद्योगलाई कर मुक्त गरे वैदेशिक रोजगारीमा जाने युवाको संख्या कम हुदै जाने तर्क उहाँको छ । कर दिवसको अवसरमा सरकारले धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । सर्वाधिक कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम रहेको छ । यस्तै वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणा छन् । निर्यात उद्योगमा डाबर नेपाल प्रालिले सबैभन्दा बढी कर बुझाएको छ । विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स रहेको छ ।