
प्रकाश नेपाल
इलाम, मंसिर २ । इलाममा हरियो चियाको मुनाको उत्पादन र प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन थालिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको मुनाको लागत मुल्य अध्ययन गरी समर्थन मूल्य तोक्ने योजना कार्यन्वयनमा ल्याउन लागेको हो ।
चिया कृषकहरुले आफूले उत्पादन गरेको हरियो चियाको लागत मूल्य तोक्न माग गरेको धेरै भयो । तर, बल्लतल्ल राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया कृषकहरुको मागलाई सम्बोधन गर्ने छाँटकाँट देखाएको छ । वर्षेनि चियाको लागत मूल्य तोक्ने आश्वासन दिए पनि कृषकले भने झै कार्यान्वयनमा आउन सकेको थिएन् । चिया खेती सुरु भएको डेढ सय वर्ष अर्थात ढीलै भए पनि हरियो पत्तिको समर्थन मूल्य तोकीने भए पछि कृषक पनि लाभ पाईने कुराले खुसी भएका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चियाको न्युनतम लागत मूल्यको अध्ययन गरी समर्थन मुल्य तोक्ने योजनालाई अघि बढाएको छ । नेपालमा पहिलो पटक चिया खेती सुरु भएको इलामबाट अध्ययन समितिले न्युनतम लागत मूल्यको अध्ययन थालेको हो ।
चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका प्राविधिक इन्द्र अधिकारीको नेतृत्वको प्राविधिक टोलीले प्रतिकेजी न्युनतम लागत मूल्य बारे अध्ययनको काम गरिरहेको छ । ३ वटा सीजनमा हरियो चिया पत्ति खरिद बिक्रि हुँदै आएकाले फरक फरक लागत मूल्य अध्ययन गरी समर्थन मुल्य तोक्ने योजना रहेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले जानकारी दिनुभयो ।
व्यावसायीक रुपमा खेती हुँदै चियामा फस्ट फल्स, रेनी र अटम गरि तीन सिजनमा खरिद बिक्री हुन्छ । चियाको मुनाको गुणस्तर मापन र न्युनतम समर्थन मूल्य नहुँदा किसान मारमा पर्दै आएका छन् । बोर्डले हरियो चिया पत्तिसँगै प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन पनि गरिरहेको छ ।
किसानबाट खरिद गरेको हरियो चिया पत्तिको प्रशोधन लागत मूल्य किसानले थाहा पाउने भएपछि किसान र उद्योगीको सम्बन्ध पनि सुमधुर हुने बोर्डको विश्वास छ । हरियो चिया पत्तिको न्युनतम लागत मूल्य अध्ययनको काम सकेर समर्थन मुल्य तोक्ने काम दुई आर्थिक वर्षमा सक्ने बोर्डको योजना छ ।
हरियो चियाको लागत मूल्यको जति छिटो टुंगो लाग्यो त्यति नै चिया कृषकहरुलाई फाईदा पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्