
काठमाडौं, मंसिर ३ । घर जग्गाको मूल्य दिन दुई गुणा रात चौगुना वृद्धि भैरहे पनि राष्ट्र बैंकको एक सर्वेक्षणले गएको वर्ष मूल्य वृद्धिदर केही घटेको देखाएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको घरजग्गा सर्वेक्षण प्रतिवेदनले गएको बर्ष घरजगा मूल्यबृद्धि मत्थर बनेको हो ।
सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति साढे २६ प्रतिशत रहेको पाइएको छ ।
यही बर्ष मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कमा भने यस्तो मुद्रास्फीति १९ दशमबल ७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । यसैगरी, आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा मुद्रास्फीति क्रमशः १६ दशमलब ३१ र १२ दशमबल ५७ प्रतिशत रहेको पाइएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा केही शिथिलता आएकाले मुद्रास्फीति केही कम रहेको निष्कर्ष सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ संगठनले कारोबार गरेको तथ्याङक सहि राख्नु पर्ने बताउनुभयो ।
गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघहरुले गरेको कारोबारको सहि तथ्याङक राख्दा घरजग्गा कारोबारमा अहिले भइरहेको असमान मूल्यमा समानता ल्याउन सहयोग पुग्ने बताउनुभयो ।
घरजग्गाको मूल्यमा आउने उतार चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क निर्माण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले यसरी प्राप्त हुने घरजग्गा मूल्य सूचकाङ्क त्रैमासिक रूपमा नियमित प्रकाशन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्