२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल


0
Shares

काठमाडौं, मंसिर ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको बताइएको छ । माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच केही दिनयता पार्टी एकताको प्रयासअनुसार छलफल चल्दै आएको छ । यसको पहल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गर्दै आउनु भएको छ ।

शनिबार बिहान खुमलटारमा प्रचण्ड, विप्लव र महराले छलफल गर्नु भएको थियो । झण्डै एक घण्टा चलेको छलफलमा दुई पार्टीबीच तत्काल सहकार्य गर्ने र पार्टी एकता गर्न छलफल चलाउँदै जाने समझदारी भएको स्रोतले बतायो ।

भेटमा विप्लवले तीन बुँदे सहमतिको कार्यान्वयन, जनमत संग्रह सवाल, राजनीतिक संकट र महंगीको विषयमा कुरा उठाउनु भएको थियो । केही दिन अघि कैलालीमा भएको कार्यक्रममा विप्लवले माओवादी केन्द्रसँग पार्टी एकता हुन सक्ने बताउनु भएको थियो ।

सशस्त्र युद्धमा प्रचण्डका विश्वास पात्र विप्लव शान्ति प्रक्रियामा आएपछि मोहन वैद्य ‘किरण’सँगै तत्कालीन नेकपा माओवादीबाट अलग हुनुभएको हो । बम विष्फोट, व्यक्ति हत्या लगायतका गतिविधि गरेको आरोपमा तत्कालीन सरकारले २०७५ फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

पछि सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किनु भएको थियो ।