९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’, केही दिनमै अन्य चोकमा


0
Shares

काठमाडौं, माघ ३ । काठमाडौं उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।

“अबको केही दिनमै मित्रपार्क, कालीमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याउँछौँ”, उनले भने । प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकले ट्राफिक व्यवस्थापनमा चासो दिएसँगै १३ वर्षपछि उपत्यकाको चोकमा ट्राफिक बत्ती जडान गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक बत्ती जडानले सहयोग पुग्ने महाशाखा प्रमुख ढकालको भनाइ छ । नेपालमा पहिलो पटक वि.सं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो ।

त्यसपछि जापान सरकारको सहयोगमा वि.सं २०५८ मा ट्राफिक बत्ती जडान गरिए पनि पछिल्लो समय बिग्रिएको थियो । रासस