१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको बैठक स्थगित


0
Shares

काठमाडौं, मंसिर ५ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

आइतबार सिंहदरवारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आगामी मंसिर १७ गते बस्नेगरी स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पार्नुभयो ।

गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद् बैठकले भारतका लागि नेपाली राजदुतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो ।

प्रस्तावित तीन वटै देशका राजदूतहरुको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो । संसदीय सुनुवाइ समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्य समेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनु परेको पनि समितिका सभापति कर्णले बताउनुभयो ।