प्रचण्ड/बाबुरामको सत्ता–शक्ति प्राप्तिको क्रूरता र मुक्ति सरको हत्या गर्ने जल्लादहरु

news
Photo: Himal magazine

राजन कुईंकेल

नेपालको इतिहासमा २०५२ देखि २०६२ को दशक व्यक्ति हत्या, मानवताविरुद्धको अपराध, युद्ध अपराध, र नरसंहार जस्ता अपराधका कारण कलंकित बनेको छ । सत्ता र शक्ति प्राप्तिको चरम उन्मादमा रहेको तात्कालीन माओवादीले थालेको सशस्त्र हिंसाका कारण यी अपराध हुन पुगेका हुन् । उसो त कालखण्ड विशेषमा तात्कालीन सत्ताधारीहरु पनि व्यक्तिहत्यामा संलग्न रहेका छन् ।

मूल रुपमा माओवादी नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको सत्ताकांक्षाको अन्धसमर्थनमा मार्न र मर्न तयार जत्थाका कारण यो एक दशकमा १७ हजारभन्दा बढी नेपाली नागरिक मारिए । मर्ने/मार्ने अभियानमा जानिबुझी वा उक्साहटमा सहभागि हुने बाहेकको हत्या जुन पक्षले गरेको भए पनि त्यो मानवअधिकारको उल्लंघन मात्र नभई मानवताविरोधी अपराध पनि हो ।

माओवादीले गरेको सशस्त्र हिंसाको प्रतिरोधमा राज्यले चलाएको प्रतिहिंसाबाट उसैगरी निहत्था नागरिक मारिए । युद्धमा प्रत्यक्ष जोडिएका व्यक्तिलाई छाड्ने हो भने राजनीति, युद्ध र सत्ता–शक्तिको लेनदेनमा कुनै हिस्सा नभएका निरापराध नागरिकलाई जसरी मारियो त्यसको निन्दाका लागि कुनै शब्द नै छैन । आफ्ना विरोधी सकाउने नाममा माओवादीले तयार पारेका हत्यारा जल्लादहरुले फगत सुराकीका आरोपमा एकपछि अर्को गर्दै हजारौं मानिसलाई निर्ममतापूर्वक हत्या गरे ।

माओवादी हिंसा अन्त्यका लागि भन्दै राज्यले अख्तियार गरेका अनेक रणनीतिका नाममा उसैगरी माओवादीका ट्याग भिराउँदै हजारौंलाई मारियो । किलो सेरा टूदेखि थालिएको अनेकानेक नाममा मारिनेमा अधिक निहत्था सर्वसाधारण नै थिए । जसलाई युद्ध र त्यसले बोकेको निहीत स्वार्थसँग कुनै सरोकार थिएन ।

आफ्नो राजनीतिक शक्ति आर्जनको रोटी सेक्न गरीबी, अशिक्षा, रोग र भोकसँग जुधिरहेका सर्वसाधारणलाई मानव ढालका रुपमा माओवादीले दशकसम्म राम्रैसँग प्रयोग गर्यो । बेरोजगारी र गरीबीले डढेको युवा वयको मनमा लालसाको लेप लगाएर प्रचण्ड/बाबुरामले मृत्युको मुखमा हजारौं युवालाई यसरी धकेलिदिएकी ब्युँझदा उनीहरुसँग बाँकी केही थिएन । अरु त अरु माओवादी नामको संगठन पनि जिवित रहेन । प्रचण्डले एमालेको काखमा भार बिसाए त बाबुराम देशी विदेशीको उक्साहटमा यो पथबाटै बाहिरिए ।

अनि मारिए को ? मारिए तिनै सर्वसाधारण जसको आँखामा माओवादी युद्धमा लागेर रोजगारी पाउने, शदीयौंदेखि गरीबीले सेकेको नियतिलाई सपार्ने, समाज र राज्यबाट खेपेको विभेदको खाल्डोलाई कम गर्ने सपना थियो । तिनीहरु त्यही सपनामा जलेर भष्म भए । ज्यूँदाहरुले कथित क्रान्तीलाई सत्ता र शक्तिसँग सट्टेबाजी गरे ।

हजारौंलाई चिहान बनाएर गाउँ छाडे । शहर ओर्लिए । शहरमा आलीशान महल, महँगा गाडी, विलासी जीवन, यौन दुराचारमा जिउनु सामान्य भो । आर्थिक अपराधका कहलिएका बिचौलिया र भ्रटहरुसँग उठबस । हजारौं सर्वसाधारणको रगतको खोलामा बगेर, लाशको पहाडमा उक्लँदै सिंहदरबारसम्मको यात्रा । बस्, सत्ता शक्ति प्राप्तिको प्रचण्ड/बाबुरामको एउटा रुमानी लहड समाप्त !

अनि यही क्रूरतम् लहडको दशकमा मारिए, लमजुङ दुराडाँडाका इमान्दार शिक्षक मुक्तिनाथ अधिकारी । आज पनि त्यो तस्वीर देख्दा सहस्र प्रश्न एक साथ ओकलिन्छन् । मुक्ति सरको हत्या किन ? संस्कृत पढाउन बन्द नगरेकै कारण ? तिम्ले निर्माण गरेका जल्लादहरुको मनपरीका लागि आत्मसमर्पण नगरेकै कारण ? मुक्ति सरको हत्याको १८ वर्षसम्म पनि यो प्रश्नको जवाफ किन दिँदैनौं प्रचण्ड/बाबुराम ? कतिञ्जेल भाग्छौं ? कतिञ्जेल तर्किन्छौं ?

तिम्रा सन्तान कालगतीले मर्दा तिम्लाई कस्तो पीडा हुँदो रहेछ ? एउटा निहत्था निरापराधी पति, बाबु, छोरा मारिँदा त्यो घरमा कस्तो बितेको होला ? कसरी कटे होलान् जुग जस्ता बनेका दिनरात र वर्षहरु ? मुक्ति सरको धर्मपत्नी, तिनका सन्तान आज पनि यो तस्वीर देख्दा कुन मनोदशामा पर्दा होलान् ? मुक्ति सरलाई मार्ने फर्मान् हामीले जारी गरेका थिएनौं भनेर गिड्गिडाएको पनि देखे/सुनेकै हो । त्यसो हो भने मुक्ति सरकी पत्नी र तिनका सन्तानका अघिल्तिर उभिएर माफी किन माग्दैनौं ? साहस छ तिमीमा ?

मुक्ति सर त एउटा बिम्ब, दृष्टान्त मात्र हुन् । माओवादी क्रूरताको । सत्ता सनकको यस युद्धमा बसभित्र जलाइएकी बालिका काजोल खातून हुन् वा माडी बसकाण्ड । चितवनमा मारिएका किशोर कृष्णप्रसाद अधिकारी । वा गाउँ गाउँमा ढोकाको संघारमा बोका रेटेझै रेटेर मारिएका सयौं निहत्था युवा युवती हुन् । कुनाभित्र बसेकी सुत्केरीदेखि किरियामा बसेका किरियापुत्रीमाथि गरिएका अमानवीय अपराधको फेहरिस्त यहाँ दिएर पुग्दैन । उसैगरी राज्यसत्ताबाट माओवादी युद्ध दबाउने नाममा निर्ममतापूर्वक मारिएकाहरुले कहाँबाट पाउने हो न्याय ?

व्यक्ति हत्याको श्रृंखला त्यागेर बन्दुक बिसाएको भनिएको पनि डेढ दशक भैसक्यो । खै त मुक्ति सरलाई मार्ने जल्लादहरुलाई दण्ड र उनलाई न्याय दिएको ? यो अपराधमा को को संलग्न छन् भन्ने किटानी उजुरी त परिवारका तर्फबाट दिइएकै थियो । आखिर सत्ता र शक्तिको भोग न गर्नु थियो । माओवादीको आवरणमा सत्ताको भर्याङ चढेकाहरुले न्यायको आवाज त कहिले पो उठाउँथे र ? भ्रष्टहरुसँग करोडौं कुम्ल्याएर भूईमान्छेहरुको बली त चढाएकै हुन् ०५२–०६२ को दशकमा ।

अहिले पनि सत्ता सनकको सशस्त्र दशकमा गरिएका अपराधप्रति किञ्चित अपराधबोध नगर्ने । उल्टै जल्लादहरुको झुण्ड बनाएर पीडितलाई धम्काउने, तर्साउने क्रम जारी नै छ । पीडितप्रति सामान्य सहानुभूतिसम्म पनि छैन । बरु हिजोको एकार्काका दुष्मन करार गरिएकाहरु ‘काले काले मिलेर खाउँ भाले’को शैलीमा अपराध उन्मुक्तिको बाटोमा सहकार्य गरिरहेका छन् । सरकारी बन्दुके र कथित विद्रोही एम्बुसेको घाँटी जोडिएको छ ।

तर एउटा सत्यचाहिं यो हो कि वास्तविक पीडितले न्याय नपाउँदासम्म प्रचण्ड÷बाबुराम हुन् वा तात्कालीन सत्ताधारी जो जो यो प्रकरणमा संलग्न छन् तिनले सहजै उन्मुक्तिचाहिं पाउने छैनन् । मुक्ति सरसहितका युद्धमा कुनै सरोकार नरहेका निहत्था मागरिक मार्नेहरुको पनि भलोचाहिं पक्कै हुने छैन । आजको यस दुःखद घडीमा मुक्ति सरप्रति हार्दिक श्रद्धासुमन !

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...