
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको छ । मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशन आउन ५ दिनमात्रै बाँकी रहँदा एमालेका नेताहरु चितवन केन्द्रीत भएका छन् । महाधिवेशन व्यवस्थापनको काम धमाधम अघि बढिरहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ईमेजखबरलाई जानकारी दिनुभयो ।
१० औं महाधिवेशनमा रहेको एमालेका यसअघिका महाधिवेशन विभिन्न स्थानमा भएका थिए । विक्रम सम्बत् २००६ वैशाख १० गते नेपाल कम्यूनिष्ट पार्टीको स्थापना भएको हो । यसका संस्थापक नेता पुष्पलाल श्रेष्ठ हनुहुन्थ्यो ।
एमालेले नेपालमा कम्यूनिष्ट पार्टी स्थापना भएदेखि अहिलेसम्म भएका महाधिवेशनलाई नै आधार मानेर आफ्नो महाधिवेशनको गणना गरेको छ । विगतमा कम्यूनिष्ट पार्टी र एमाले बनेपछि भएको महाधिवेशन र त्यसपछि बनेका पार्टी प्रमुख यसप्रकार छन् ।
पहिलो महाधिवेशन
नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन वि.सं २०१० साल माघ १० गतेदेखि २० गतेसम्म ललितपुरको पाटन र काठमाडौंमा भएको थियो । त्यसले मनमोहन अधिकारीलाई महामन्त्रीका रूपमा निर्वाचित गरेको थियो । त्यतिबेला महामन्त्री नै पार्टी प्रमुख मानिन्थ्यो ।
दोस्रो महाधिवेशन
नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन वि.सं २०१४ जेठ १५ गतेदेखि २५ गतेसम्म काठमाडौंको दरवारमार्ग स्थित फोहोरा दरवारमा सम्पन्न भएको थियो । जसले डा. केशरजंग रायमाझीलाई महासचिव चयन गरको थियो ।
तेस्रो महाधिवेशन
तेस्रो महाधिवेशन वि.सं २०१९ वैशाख ४ गतेदेखि १५ गतेसम्म भएको थियो । यसमा स्थान भने खुलाइएको छैन । तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिवमा निर्वाचित गरेको थियो ।
चौथो महाधिवेशन
प्रजातन्त्र पुनः प्राप्ति पछि वि.सं.२०४६ भदौ ९ देखि १४ गतेसम्म सिरहाको विष्णपुरकट्टीमा चौथो महाधिवेशन भएको थियो । जसले मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो । यतिबेलासम्म नेकपा एमाले बनिसकेको थिएन ।
पाँचौ महाधिवेशन
यो महाधिवेशन निकै महत्पूर्ण मानिएको छ । वि.सं २०४७ पुस ११ मा तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) को गठन भयो । औपचारिक रूपमा एमाले गठनपछिको यो पहिलो महाधिवेशन हो ।
एमालेको यो महाधिवेशन वि .सं २०४९ माघ १४ देखि २० सम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशाला र कमलादीमा भएको थियो । यो महाधिवेशनसँगै एमालेले पार्टी प्रमुखका रूपमा अध्यक्ष रहने व्यवस्था गर्याे । यो अधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्याे ।
छैठौं महाधिवेशन
एमालेको छैठौं महाधिवेशन वि.सं २०५४ माघ १२ देखि १८ गतेसम्म बाँकेको नेपालगञ्जमा भएको थियो । यो महाधिवेशनले अध्यक्षमा मनमोहन अधिकारी र महासचिवमा माधव कुमार नेपाललाई चयन गरेको थियो । त्यसअघि महासचिव रहनुभएका मदन भण्डारीको २०५० जेठ ३ मा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भएको थियो ।
सातौं महाधिवेशन
एमालेले सातौ महाधिवेशन भने वि.सं २०५९ माघ १८ देखि २२ गतेसम्म धनुषाको जनकपुरस्थित बाह्रविघाह रंगभूमि मैदानमा गरेको थियो । त्यसले महासचिवमा माधवकुमार नेपाललाई नै चयन गर्यो । २०५६ वैशाख १३ गते मनमोहन अधिकारीको निधन भएपछि सातौं महाधिवेशनमा एमालेले अध्यक्ष पद खाली राखेको थियो ।
आठौं महाधिवेशन
२०६५ फागुन ५ देखि १४ गतेसम्म रूपन्देहीको बुटवलमा एमालेको आठौं महाधिवेशन भएको थियो । सो महाधिवेशनले झलनाथ खनाललाई अध्यक्ष र ईश्वर पोखरेललाई महासचिव चुनेको थियो ।
नवौं महाधिवेशन
एमालेको नवौं महाधिवेशन २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा भएको थियो । त्यसले केपी शर्मा ओलीलाई अध्यक्ष र महासचिवमा ईश्वर पोखरेललाई निर्वाचित गरयो ।
दशौं महाधिवेशन
एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन नारायणगढ स्थित नारायणी नदी किनारमा हुँनेछ भने बन्दसत्र सौराहमा हुनेछ । दशौं महाधिवेशनमा एमालेले नेतृत्व चयनमात्रै गर्नेछ ।
गत असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा एमालेले पहिलो विधान महाधिवेशन गरेको थियो । त्यसले पार्टीको नीति, संगठन र विधान पारित गरिसकेकाले दशौं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्न लागेको हो ।
दुईपटक विभाजित
नेकपा एमाले बनेको ३१ वर्षको इतिहासमा दुईपटक विभाजित भइसकेको छ । पहिलो पटक २०५४ सालमा बामदेव गौतमले एमाले विभाजन गरेर नेकपा माले गठन गर्नुभएको थियो । तर, पछि उहाँ एमालेमै फर्किनु भएको थियो । उहाँले गत भदौमा पनि एमालेको उपाध्यक्ष लगायत सबै पदबाट राजीनामा दिनुभएको थियो ।
त्यस्तै एमालेमा आन्तरिक कलह चर्किएपछि गत भदौ ९ मा पार्टी औपचारिक रूपमा फुटेको थियो । माधवकुमार नेपाल भदौ ९ मा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेर एमालेबाट बाहिरिनुभएको छ । फुटेको एमालेको नेतृत्व भने ओलीले गरिरहनुभएको छ । एमालेको दशौं महाधिवेशनमा नेपाल र खनाल हुनुहुने छैन । नेपालको पार्टीलाई एमालेले महाधिवेशनमा निम्तो समेत दिएको छैन ।
ओली फेरि अध्यक्ष
दशौं महाधिवेशनले केपी शर्मा ओलीलाई नै फेरि अध्यक्ष बनाउने निश्चित नै छ । ओलीलाई टक्कर दिने माधव कुमार नेपाल र झलनाथ खनाल एमालेबाट बाहिरीसक्नु भएको छ । हुनत अहिलेका उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । रावलले आइतबार उम्मेदवारी घोषणा गर्नु भएको हो ।
यसअघि ओली पक्षका नेताले ओली निर्विकल्प अध्यक्ष भन्दै आइरहेकामा रावलले चुनौती दिनुभएको हो । रावलको उम्मेदवारी अन्तिम सम्म रहिरहन्छ वा ओलीका लागि उहाँ पछि हट्नु हुन्छ भन्ने कुरा केही दिनमै थाहा हुनेछ । तर, ओली निकट नेताहरू भने रावलले उम्मेदवारी दिए पनि ओलीलाई अध्यक्ष बन्नबाट कसैले रोक्न नसक्ने दाबी छ ।
प्रतिक्रिया दिनुहोस्