
काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत भइरहेका निर्वाचनमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्न आग्रह गर्नु भएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सकभर सर्वसम्मतरूपमा चयन गर्न आग्रह गर्दै त्यसो नभए लोकतान्त्रिक पद्दतिअनुसार स्वच्छ निर्वाचन गरेर पदाधिकारी चयन गर्न आग्रह गर्नुभयो ।
पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिस्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनुका साथै पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न उहाँको आग्रह थियो । प्रधानमन्त्री देउवाले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सिँचाइ, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा भएको समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताउनुुभयो ।
प्रतिक्रिया दिनुहोस्