
परासी, मंसिर ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनौटमा सभापति शेरबहादुर देउवाको गुट कमजोर देखिएको छ ।
संस्थापन इतर खेमाले बुहमत प्रतिनिधि जितेको छ । जिल्लाबाट निर्वाचितसहित कुल ५३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा २९ जना इतर गुटका छन् भने २४ जना देउवा गुटका छन् ।
क्षेत्र नम्बर १ मा इतर गुटले कार्य समितिसहित सबै महाधिवेशन जितेको छ । क्षेत्र नम्बर २ मा देउवा गुटले ३ महाधिवेशन प्रतिनिधिबाहेक कार्यसमिति र अन्य प्रतिनिधि जितेको छ ।
जिल्लामा देउवा खेमामा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र विक्रम खनाल तथा देवकरण जयसवालको अर्को संयुक्त गुट छ । दुई गुटबीच जिल्लामा पानी बाराबारको स्थिति छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि अहिले नेताहरु जिल्ला अधिवेशनको दौडधुपमा लागेका छन् ।
निर्वाचन क्षेत्र अधिवेशनको मत परिणामअनुसार देउवाइतर गुटको वर्चस्व देखिएको छ । देउवा गुटभन्दा इतर गुट १ सय ८२ मतले अघि देखिएको छ । जिल्ला सभापतिका लागि दुवै गुटले यसअघि नै उमेदवार घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्