८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


ओली–दाहाल भेट सकियो, नेकपा सचिवालय बैठक ४ बजे बस्ने


0
Shares

काठमाडौं, माघ ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहान भएको छलफलपछि सचिवालय बैठक बोलाइएको हो ।

बैठकले सभामुखको उम्मेदवार टुंगो लगाउने सम्भावना छ । नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पटक पटक स्थगित हुँदै आएको संसद बैठक सोमबारका लागि बोलाइएको छ ।

सभामुखको उम्मेदवार टुंगो लगाउन अध्यक्षद्वय ओली र दाहालबीच केही दिनयता लगातारजसो छलफल भइरहेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको अभियोग लागेपछि रिक्त सभामुख पदमा को लैजाने भन्नेमा नेकपाभित्र रस्साकस्सी छ ।

नेकपा सचिवालय बैठकले उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा दिन निर्देशन दिएपनि सभामुखको टुंगो नलागेसम्म राजीनामा नदिने अडान उनको छ ।

प्रधानमन्त्री ओली पूर्वसभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा रहेपनि पूर्वमाओवादीहरु आफूहरुले नै उक्त पद पाउनुपर्ने अडानमा छन् । दाहाल अग्नि सापकोटाको पक्षमा रहेका छन् ।

त्यही बीचमा उपभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि सभामुख आफैलाई बनाउनुपर्ने दाबी गर्दै आएकी छिन् । उनलाई राष्ट्रपति विद्या भण्डारीसमेतको साथ रहेको चर्चा नेकपाका नेताहरुले नै गर्दै आएका छन् । 

आजको छलफलमा ओलीले दाहालको अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने प्रस्तावमा सहमति जनाएको स्रोतले दाबी गरेपनि स्वतन्त्र रुपमा पुष्टि भैसकेको छैन ।