
काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा बिहीबार काठमाडौंमा आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिनुभयो । उहाँले शान्ति–सुरक्षा विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्दै मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिनुभयो । उहाँले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपंक्तिमा खटिएर काम गर्दै आएकोमा सशस्त्र प्रहरीको प्रशंसा गर्नुभयो । उहाँले भूकम्प र कोभिड–१९ जस्ता संकट र विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सशस्त्र प्रहरीले गरेको काम अनुकरणीय रहेको स्मरण गर्नुभयो ।
उहाँले वर्तमान सरकार विधिको शासन स्थापना गर्न, संविधानको भावना र मर्मअनुसार जनताको नैसर्गिक अधिकारको संरक्षण, भ्रष्टाचारमुक्त समाज निर्माण, भाइचारा र सहअस्तित्व कायम राख्दै सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्ण र समुदायको सर्वाङ्गिण विकास गर्न दृढ संकल्पित रहेको उल्लेख गर्नुभयो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवाको निर्देशन अक्षरसः पालना गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकारबाट सशस्त्र प्रहरीलाई स्रोत साधन उपलब्ध गराउन तथा क्षमता अभिवृद्धि गर्न सहयोग प्राप्त हुने विश्वस व्यक्त गर्नुभयो ।
सो अवसरमा पन्ध्र महिने तालिम सकाएर चार महिलासहित ५८ सशस्त्र प्रहरी निरीक्षक दीक्षित भएका छन् । प्रशिक्षण अवधिभर विभिन्न क्रियाकलापमा सहभागी भई उत्कृष्ट भएका प्रशिक्षार्थीलाई सो अवसरमा पुरस्कारसमेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्