१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मंसिर १५ गतेबाट गोलाप्रथामार्फत पेसी तोक्ने सर्वोच्च फुलकोर्टको निर्णय


0
Shares

काठमाडौं, मंसिर ९ । सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो । बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने छ । सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी भएर बस्ने पूर्ण बैठक (फुलकोर्ट)ले प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उभिएका असन्तुष्ट न्यायाधीशहरुले तीन सातापछि गत बुधबार फुलकोर्ट बैठक राखेर सर्वोच्च अदालत नियमावली संशोधन गरेका थिए । तत्कालीन नियमावलीमा प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकोमा नियमावली संशोधन गरी पेसी व्यवस्थापन निर्देशन समितिले गोलाप्रथा विधिबाट पेसी तोक्ने व्यवस्था गरिएको थियो ।

तर गोलाप्रथा प्रक्रियाका लागि केही प्राविधिक कठिनाई हुनेहुँदा त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले मंसिर १५ गतेबाट लागू गर्ने गरी गोलाप्रथा प्रक्रियाको मिति तोकिएको हो ।