
काठमाडौं, मंसिर ९ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
अमेरिकाको न्युयोर्कमा बिहीबार आयोजित राष्ट्रसंघीय महासभाको ७६ औं सत्रको ४० औं बैठकले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा उकाल्ने प्रस्ताव अनुमोदन गरेको हो ।
राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग, न्युयोर्कका अनुसार नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील सूचीमा राख्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट सर्वसम्मतिले अनुमोदन गरेको हो । नेपाल अबको ५ वर्षपछि विकासशील मुलुकको सूचीमा उक्लिनेछ ।
यो ५ वर्ष संक्रमणकालीन अवधि मानिनेछ । त्यतिन्जेल नेपालले अतिकम विकसित मुलुकक हैसियतमा पाउने सबै सुविधा र सहायता पाइरहनेछ । राष्ट्रसंघीय महासभाबाट पारित उक्त प्रस्तावले संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्अन्तर्गत विकास नीतिसम्बन्धी समितिलाई सन २०२४ भित्र नेपाललाई विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्नेबारे केही पुनर्विचार गर्नुपर्ने भए गर्न कार्यादेशसमेत दिएको छ ।
नेपालले अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा उक्लिन सन २०१५ मा नै मापदण्ड पूरा गरिसकेको थियो । विकासशील मुलुकको सूचीमा स्तरोन्नति हुनुअघि नेपालले ५ वर्षे संक्रमणकालीन अवधिमा राष्ट्रिय नीति तयार पार्नु पर्नेछ ।
महासभाले नेपालका साथै एशियाका बंगलादेश र लाओसलाई पनि अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्