९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सर्लाहीमा ठूलो परिमाणमा लागूऔषधसहित दुईजना पक्राउ


0
Shares

सर्लाही, माघ ५ । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–५, बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको लेखनाथ महानगरपालिका–१, घर भई हाल तनहुँको सुक्ला गण्डकी नगरपालिका–३, का ३५ वर्षीय पूर्णबहादुर तामाङ र सुक्ला गण्डकी नगरपालिका–७, का ४३ वर्षीय यज्ञचन्द्र आले रहेका छन् ।

भारतबाट लागूऔषध लिएर आउँदै गर्दा शनिबार बिहान पक्राउ परेका उनीहरुलाई आज दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

भारतको सोनवर्षा नजिक इनर्वा गाउँबाट बा १२ च ३५२७ नम्वरको कारमा सर्लाहीको पर्सा गाउँपालिकातर्फ आउँदै गर्दा तामाङ र आलेलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट लागूऔषध एक सय एमएलको फेन्सिडिल दुई सय १० बोतल र लागूऔषध नाइट्राभेट नौ सय ट्याब्लेट बरामद गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

सीमामा प्रहरीले चेकजाँच गर्ने क्रममा कारको पछाडिको सिटमा पहेँलो बोराभित्र लुकाएर राखेको अवस्थामा लागूऔषध बरामद भएको हो । यस्तै प्रहरीले उनीहरुको साथबाट तीन लाख ६७ हजार रुपियाँ नगद समेत बरामद गरेको छ ।

तामाङ र आलेले पेशाकै रुपमा लागूऔषध ओसारपसार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । यस्तै सर्लाही प्रहरीले जिल्लाको मलङ्गवा, ईश्वरपुर र धनकौलबाट एक लाख ३० हजार रुपियाँ बराबरको सोफी रक्सी, कपडा र किराना सामान बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।