
काठमाडौं, मंसिर ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ ।
उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको अन्तरक्रियामा उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताउनुभयो । उहाँले उद्योग स्थापनाका लागि जग्गा प्राप्ति अति महंगो र जग्गा पाउनै मुस्किल भएकाले सरकारले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक ग्रामको नीति ल्याएको बताउनुभयो । उद्योग सचिव पोखरेलले राज्यलाई व्यवसायीहरुले उद्योगले राज्यलाई तिर्नु पर्ने कर छुट घटाउन भन्न नहुने बताउनु भएको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अहिलेको सबैभन्दा ठूलो समस्या उच्च आयात भएको बताउनु भयो । सरकारले निर्यात प्रवद्र्धनका लागि गम्भीर रुपमा नलागेको गुनासो गर्नुभयो । गोल्छाले मुलुकको औद्योगिक क्षेत्रको विकास गर्न सरकारले निर्यातकर्तालाई सम्मानपूर्वक व्यवहार गर्नु पर्ने बताउनुभयो । उहाँले अहिले मुलुक उत्पादन भन्दा पनि आयातमा निर्भर रहेको बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग मन्त्रालय सरकारको प्राथमिकतामा नपरेको गुनासो गर्नु भएको छ । उहाँले कोरोना महामारीपछि उद्योग सरकारको प्राथमिकतामा पर्न नसकेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्