९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्सको शानदार प्रदर्शन, सरस्वती निरीह/सशस्त्र सम्हालिन नसक्दा एनआरटीलाई फाइदा


0
Shares

काठमाडौं, माघ ५ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएका खेलमा फ्रेन्ड्स क्लब र न्यूरोड टिम एनआरटी विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले सरस्वती युथ क्लबमाथि ४/१ को फराकिलो जित हासिल गरेको हो । उत्तम राईले दुई तथा साउलो र वाग्नरले एक एक गोल गरे ।

सरस्वतीका लागि काजिमले सान्त्वना गोल फर्काए । फ्रेन्ड्सले यो खेलपछि ८ अंकसहित लिगको तालिकामा चार स्थान सुधार गर्दै १३ औंबाट नवौं स्थानमा पुगेको छ । पुछारको सरस्वतीको एक अंकमात्र रहेको छ । त्यस्तै आइतबारको पहिलो खेलमा एनआरटीले सशस्त्र प्रहरीको एपिएफलाई ३/२ ले पराजित गर्‍यो ।

२/१ ले अग्रता लिएको अवस्थामा सम्हालिएर खेल्न नसक्दा सशस्त्रले हारको सामना गर्नु परेको हो । २४ औं मिनेटमा आन्द्रेको गोलमा एनआरटीले अग्रता लिएकामा ४१ औं मिनेटमा गोल गर्दै आशिष लामाले बराबरी गरे ।

५३ औं मिनेटमा आशिषले दोस्रो गोल थप्दै सशस्त्रलाई अग्रता दिलाए । तर ८० औं मिनेटमा सशस्त्रका वीरेन्द्र प्रकाश यादवले आत्मघाती गोल गर्दा एनआरटीले बराबरी गर्‍यो । त्यसको पाँच मिनेटमै दर्शन गुरुङ्गले गोल गर्दै एनआरटीलाई जिताए । यो जितले एनआरटी ११ अंकसहित चौथो स्थानमा पुगेको छ ।

११ अंककै थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब १३ अंकसहित गोल अन्तरमा मच्छिन्द्र क्लब र मनाङ्ग मस्र्याङ्दी क्लबलाई पछाडि पार्दै शीर्ष स्थानमा छ ।

सातौं चरणका अन्तिम दुई खेल सोमबार हुँदैछन् । एन्फा कम्प्लेक्समा मध्यान्ह ब्रिगेड ब्वाइज क्लब बीबीसीले संकटा क्लबसंग तथा दशरथ रङ्गशालामा दिउँसो ३ बजे आर्मीले च्यासल युथ क्लबसंग खेल्नेछ ।