
काठमाडौं, माघ ६ । प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले अन्ततः राजीनामा गरेकी छिन् ।
केहीबेरअघि बसेको संसद बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी हुन् ।
लगतै संसद सचिवालयमा तुम्बाहाङ्फेले राजीनामा पत्र दर्ता गराएकी छन् । उनको राजीनामासँगै सभामुख आफ्नो पार्टीको व्यक्तिलाई बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बाटो खुलेको छ ।
राजीनामा शब्द प्रयोग नगरी दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको भन्दै यस भूमिकामा आफूलाई सघाएकामा सबैलाई धन्यवाद दिइन् । उनले अब आफू फरक भूमिकामा रहने पनि उल्लेख गरिन् ।
अर्को बैठक ४ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ ।
तुम्बाहाङ्फेले पद नत्याग्दासम्म सभामुखमा आफ्नो पार्टीको मान्छे बनाउन नेकपालाई संवैधानिक अड्चन थियो । अब सभामुख चयनको प्रक्रिया शुरु हुनेछ ।
नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले दबाब दिएपछि राजीनामा गर्न उनी बाध्य भएकी थिइन् ।
अन्तिम समयसम्म पनि सभामुखले गरेको अपराधको दण्ड आफूलाई भोगाउन खोजिएको भन्दै पदबाट राजीनामा नदिने अडानमा रहेकी उनले प्रधानमन्त्री ओलीसँगको छलफलपछि पद त्यागेकी हुन् ।
आइतबार नेकपा सचिवालय बैठकअघि ओलीसँग भेट गर्दै उनले आफ्नो के दोष हो र के को दण्ड दिन खोजिएको भन्दै प्रश्नसमेत गरेकी थिइन् ।
उपसभामुखको राजीनामासँगै अब सभामुखको प्रक्रिया शुरु गरिने छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य राजपा नेता महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै सभामुख चयन प्रक्रिया थाल्नेछन् ।
जबरजस्ती राजीनामा गर्न बाध्य बनाइएकी तुम्बाहाङ्फेलाई भने शहरी विकास वा कानून मन्त्रालय मध्ये एकको जिम्मेवारी दिने तयारी नेकपाले गरेको छ ।
आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजिनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्