२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म बारको आन्दोलन जारी : वरिष्ठ अधिवक्ता शाक्य


0
Shares

काठमाडौं, मंसिर १२ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताउनुभएको छ ।

आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताउनुभएको हो ।

उहाँले प्रधानन्यायाधीश जबरा कानूनी र कागजी रुपमा प्रधानन्यायाधीश पदमा हालसम्म कायम रहेको भएपनि व्यवहारिक रुपमा भने सो पदमा नरहेको जिकिर गर्नुभयो । उहाँले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दापनि जनतालाई दुख दिएर अदालत ठप्प पारेको आरोप लगाउनुभयो ।

अधिवक्ता अनन्तराज लुँइटेलले आगामी दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढंगले गर्नुपर्ने बताउनुभयो । अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उहाँले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोसेढुंगा साबित गराउनुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानन्यायाधीश जबरा न्यायपालिकाको प्रदुषण भएको टिप्पणी गर्नुभयो । कानून व्यवसायीको आजसम्मको कुनैपनि आन्दोलन असफल नभएकाले प्रधानन्यायाधीश विरुद्धको यो आन्दोलन पनि सफल हुने उहाँले दाबी गर्नुभयो ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारले सर्वोच्चमा निरन्तर धर्ना दिदैँ आएको छ ।