
काठमाडौं, मंसिर १२ । नेकपा एमालेको चितनवमा जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गएराति स्थगन गरिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।
आइतबार बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन । शनिबारको बन्दसत्रले पादाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि महाधिवेशनमा विवाद भएको छ ।
बन्दसत्रले ओलीलाई सर्वाधिकार दिए पनि अहिलेसम्म अध्यक्ष ओलीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको नामावली तयार पार्न नसकेपछि बन्दसत्र सुरु हुन नसकेको हो । तर, ओली आइतबार बिहानैबाट नेताहरुसँग छलफलमा व्यस्त भए पनि ओली समूहमै पदाधिकारीमा सहमति हुन नसकेपछि थप सकस भएको छ । उता अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका नेता भीम रावलले आफ्नो उम्मेदवारीको पर्चा बाँडिरहनु भएको छ ।
ओलीलाई माधवकुमार नेपालको साथ छाडेर आएका, माओवादीबाट आएका र आफू निकटका नेताहरुलाई मिलाउनुपर्ने बाध्यता छ । सर्वसम्मत गर्ने भनिए पनि ओली समूहमै वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङ र ईश्वर पोखरेल तथा महासचिबमा शंकर पोखरेल र विष्णु पौडेलले दाबी नछाडेपछि ओलीलाई सकस भएको हो ।
यही मंसिर १० गते सुरु भएको महाधिवेशन आज सक्ने पूर्वघोषित तालिका भए पनि नेताहरुको व्यवस्थापनको विषयमा अन्योलता हुँदा महाधिवेशन लम्बिने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्