
काठमाडौं, मंसिर १२ । काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते काठमाडौं बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा प्रदर्शनी तथा भेला हुने भएको हो ।
प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका बस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामकुमार गिरीले पछिल्लो समय ढाकाको महत्व बढ्दै गएको र ढाकाको उत्पादनमा विविधिकरण हुन थालेको बताउनुभयो । ढाकाले महिला दिदीबहिनीहरुलाई रोजगारीमा संलग्न गराउनका साथै पिछडिएका जनजातिहरुको आर्थिक स्तर सुधार गर्न समेत मद्धत पु¥याएको उहाँले बताउनुभयो ।
ढाकालाई फेसन उद्योगसँग जोड्न आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो । ढाकाले ग्रामिण भेगमा रोजगारी सिर्जना गरी सन्तुलित विकास गर्न भूमिका खेलेको पनि उद्योगीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्