
काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, खेलको ७० औं मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै टिमलाई जित दिलाए । पुलिसका परिवर्तित खेलाडी सुमन लामाले रबि पासवानको पासमा उत्कृष्ट गोल गरे ।
जुन गोल खेलको निर्णायक गोल बन्यो । पहिलो जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दोस्रो हार बेहोरेको जावलाखेलले अंकको खाता खोल्न सकेको छैन ।
लिगमा भोलि दुई खेल हुनेछ । भोलिको पहिलो खेलमा न्युरोड टिम एनआरी र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच दिउँसो १ बजे तथा दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीत दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्