१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


मंसिर १९ गतेदेखि चितवनबाट बाघ गणना सुरु, पुस महिनाभित्र सक्ने लक्ष्य


0
Shares

काठमाडौं, मंसिर १३ । नेपालका राष्ट्रिय निकुञ्जमा यही मंसिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ ।

गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्ने छ । देशभरका पाँच निकुञ्जमा बाघ छन् ।

चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज तथा आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदको समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयूक्त मानिन्छ ।

झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघगणना गर्ने तयारी गरिएको छ ।

क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई/दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्लाफाँटा तथा नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो ।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २ सय ३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लाफाँटामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो संख्या बढेको अनुमान छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।