
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा पुनःनिर्वाचित हुनुभएको छ ।
सोमबार भएको निर्वाचनबाट सभापतिमा थापाले प्रतिस्पर्धी अष्टकुमार कवेंलाई ११५ मतको अन्तरले पराजित गरी पुनः निर्वाचित हुनुभएको हो ।
आज बिहान आएको मतपरिणामअनुसार थापाले ५५५ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । सभापतिका अर्का उम्मेदवार कवेंले ४४२ मत ल्याउनुभएको छ ।
थापा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका हुनुहुन्छ भने कवें संस्थापन इत्तर पक्षका नेता एवम् कांग्रेस नेता प्रकाशमान सिंह निकटका हुनुहुन्छ ।
यस्तै, उपसभापतिमा विजेश अवाल र उर्मिला वन, सचिवमा सुशिल बस्नेत र राजेश खड्का तथा सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने विजयी हुनु भएका छन् ।
थापा र कवेंबीच १३ औं महाधिवेशनमा पनि जिल्ला सभापतिका लागि भिडन्त भएको थियो । सो बेला पहिलो चरणमा कवें पहिलो र थापा दोस्रो भएका थिए । कांग्रेसको विधान अनुसार पहिलो चरणमा सभापतिका उम्मेदवारहरु थापा, कवे, गणेशमान चक्रधर र राजाराम खड्का कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि दोस्रो चरणमा कवें र थापाबीच पुनः प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको निर्वाचनमा थापाले खड्का र चक्रधरको सहयोगमा कवेंलाई पछि पार्दै जिल्ला सभापति जित्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्