
काठमाडाैं । पूर्वपञ्चहरूको पार्टीका रूपमा रहेको राष्ट्रिय प्रतातन्त्र पार्टी (राप्रपाको) महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन बुधबारदेखि हुँदैछ ।
राप्रपामा अहिले तीन जना अध्यक्ष छन् । कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनी । राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । २०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।
पार्टी एकीकरणपछि डेढ वर्षभित्र महाधिवेशन गर्ने घोषणा राप्रपाले गरेको थियो । तर, कोरोना लगायतका विविध कारण देखाउँदै महाधिवेशन सार्दै आएको थियो । यो महाधिवेशनबाट राप्रपामा अब एक जना मात्रै अध्यक्ष हुनेछन् । बुधबारबाट सुरु हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको राप्रपाका नेता मोहन श्रेष्ठले ईमेजखबरलाई जानकारी दिनुभयो ।
थापा र लिङदेनबीच प्रतिस्पर्धा
राप्रपाको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेनबीच टक्कर पर्ने पक्का भएकाे छ । अहिलेसम्म अध्यक्षमा थापाले र लिङदेनले मात्रै उम्मेदवारी घोषणा गर्नुभएको छ । थापाले हिजो (सोमबार) र लिङदेनले गत शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
अहिलेका तीन जना अध्यक्षमध्ये थापा बाहेक राणा र लोहनीले अध्यक्षमा उम्मेदवारी नदिने हुनुभएको छ । मंगलबार राणाले पत्रकार सम्मेलन गर्दै आफू कतैतिर पनि नखुल्ने र भोलिबाट सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नबन्ने बताउनुभयो भने डा. लोहनीले मंगलबार पत्रकार सम्मेलन गरेरै लिङ्देनको पक्षमा मुख खोल्नुभएको छ ।
राणा पक्षका केही नेता भने थापाको पक्षमा खुलेका छन् । लिङ्देनको पक्षबाट धवल समशेर राणाले महामन्त्रीमा उम्मदवारी दिने बताउनुभएको छ । राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुनुहुन्छ । थापाले आफूले सुरु गरेको काम अधुरै रहेकाले त्यसलाई पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिनुपरेको दाबी गर्नुभएको छ भने लिङदेनले पार्टीको अवस्था सुदृढ बनाउन अध्यक्षमा उम्मेदवारी दिएको बताउनु भएको छ ।
अध्यक्षका दुवै प्रत्यासीले आफूतर्फ नेता कार्यकर्ता तान्न थालिसकेका छन् । युवा पुस्तामा नेतृत्व आउनुपर्ने जिकिर लिङ्देनको छ । तर, थापाको भने युवा पुस्ताले चार वर्ष नेतृत्व लिन पर्खिनुपर्ने भनाइ छ । राप्रपालालाई अग्रणी शक्ति र वैचारिक धारमा बलियो बनाएर विश्राम लिने थापाको दाबी छ ।
तर, राप्रपाकै कतिपय नेता भने थापाको भनाइमा विश्वास गर्दैनन् । राप्रपाका नेता तारानाथ लुइँटेलले ईमेजखबरसँग थापाले विगतमा धेरै अवसर पाउँदा पनि पार्टीलाई राम्रोसँग हाक्न नसकेको बताउनुभयो । थापामा वैचारिक विचलन आएको लुइँटेलको आरोप छ । ‘उहाँबाटै पार्टी चल्छ भन्नेमा विश्वास छैन, अब युवा पुस्तामा नेतृत्व आउनुपर्छ,’ उहाँले भन्नुभयाे । थापा विगत १९ वर्षदेखि राप्रपाको नेतृत्वमा हुनुहुन्छ ।
राप्रपाका अर्का नेता परशुराम तामाङ भने युवा पुस्ता भन्दा पनि पार्टीलाई वैचारिक रूपमा स्पष्टसँग हाक्न सक्ने नेता नेतृत्वमा आउनुपर्ने बताउनुहुन्छ । यसका लागि पुरानै नेतृत्व सक्षम रहेको तामाङको दाबी छ । ‘हामीले अहिलेनै नेतृत्वलाई परास्त गर्न खोज्नुहुँदैन भन्ने मेरो विचार हो,’ तामाङले ईमेजखबरसँग भन्नुभयो ।
लिङ्देन विगतमा थापाकै समूहमा हुनुहुन्थ्यो । अब अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।
राप्रपाको विगत
२०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि २०१७ सालदेखि सुरु भएको ३० वर्षे पञ्चायती व्यवस्था ढल्यो । पञ्चायतको अन्त्यपछि १५ जेठ २०४७ मा पूर्वपञ्चहरू मिलेर अलग्गै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठन गरे ।
गठन भएको ३१ वर्षमा पार्टी धेरै पटक फुट्यो । फुट्नु र जुट्नु राप्रपाको नियति नै बन्यो । पछिल्लो पटक २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) बीच पार्टी एकीकरण भएको थियो । त्यसयता भने राप्रपा विभाजित भएको छैन ।
राप्रपाले आफ्नो वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई लिएको छ । राप्रपाको एजेण्डा हिन्दु धर्म र संवैधानिक राजसंस्था हाे । तर, ती एजेण्डा उसले स्थापित गर्न सकेको छैन । प्रजातन्त्र प्राप्तपछि राप्रपा पटक-पटक सरकारमा गएको छ ।
२०७४ को निर्वाचनअघि संसद्मा राप्रपाको हैसियत सरकार बनाउने र ढाल्ने थियो । उ कांग्रेस र कम्युनिष्ट नेतृत्वमा बनेका सरकारमा धेरै पटक सहभागी भइसकेको छ । तर, २०७४ मा भने राप्रपा बीउ मासिने अवस्थामा पुग्याे । यद्यपि, झापाबाट राजेन्द्र लिङ्देनले चुनाव जितेर संसदमा राप्रपाको बीउ जोगियाे ।
अहिले संसदमा राप्रपाबाट लिङ्देनमात्र १ जना सांसद हुनुहुन्छ । बेला–बखत देशका ठूला राजनीतिक पार्टीहरूप्रति आम नागरिकको वितृष्णा बढेका बेला राप्रपालाई वैकल्पिक शक्तिका रूपमा हेरिएको थियो । तर, जनअपेक्षाअनुसार राप्रपाले आफूलाई अघि बढाउन नसकेको र संगठन पनि कमजोर भएको राप्रपाकै नेताहरूको स्वीकारोक्ति छ ।
प्रतिक्रिया दिनुहोस्