
टिप्पणी
काठमाडौ । पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’काे राजनीतिक जीवनमा एमालेको घाम लागेको छ ।
‘बादल’ नेकपा (एमाले)को उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । विगतमा एमालेका नेता कार्यकर्ताले बादललाई नपत्याए पनि चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा भने कार्यकर्ताले पत्याएका छन् । चितवनमा भएको एमालेको १० औं महाधिवेशनले बादललाई उपाध्यक्ष निर्वाचित गरेको हो ।
तत्कालीन नेकपाभित्र विवाद चुलिएका बेला बादल अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लाग्नुभएको थियो । २०७७ फागुन २३ मा सर्वाेच्च अदालतले नेकपा नाम ऋषि कट्टेल नेतृत्वको पार्टीसँग मिलेको भन्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइएपछि ‘बादल’ माओवादी छोडेर एमालेमा लाग्नुभएको थियो ।
माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका ‘बादल’ अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।नेपालमा गणतन्त्र स्थापनाका लागि लामो समय लड्नुभएका ६६ वर्षीय ‘बादल’ कुनैबेला ‘नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका जानु जस्तै हो’ भनेर टिप्पणी गर्नुहुने ओलीको पछि लागेर एमालेको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
माओवादीका कार्यकर्ता हाँक्दै आउनुभएका ‘बादल’ले अब भने एमालेका कार्यकर्ता परिचालन गर्नुहुनेछ । गत जेठ ६ मा भएको राष्ट्रिय सभा बागमती प्रदेश उपनिर्वाचनमा भने ‘बादल’ पराजित हुनुभएको थियो । गत पुस र जेठमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा सबै दलले ओलीको विरोध गर्दा ‘बादल’ले भने ओलीको कदम सहि भएको भन्दै समर्थन गर्नुभएको थियो ।
राष्ट्रिय सभा निर्वाचनमा पराजित हुँदा त्यतिबेला ‘बादल’को राजनीतिक जीवनमा घाम नलागे पनि यसपटक भने एमालेको १० औं महाधिवेशनले उहाँको शरीरमा घाम लागेको एमालेकै नेताहरूको टिप्पणी छ । अब उहाँले एमालेका कार्यकर्ताको भावना कसरी बुझ्नुहुन्छ त्यो भने समयले देखाउनेछ ।
पुरानो घर छाडेर नयाँ घरतिर लाग्नु भएका ‘बादल’को राजनीतिक यात्रामा ‘बादल’ लाग्ने त होइन भनेर टिप्पणी भइरहेका बेला एमालेको संगठन र पार्टी सञ्चालनबारे ज्ञान नभए पनि उहाँ अब एमालेको निर्वाचित उपाध्यक्ष बन्नुभएको छ । थापा १ हजार ७ सय ६८ मतका साथ निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्