२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राप्रपा महाधिवेशनमा विवाद उत्पन्न, संस्थापनले प्रतिनिधिको नामावली हेरफेर गरेको आरोप

बन्दसत्र र चुनावी प्रक्रिया अवरुद्ध

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा विवाद उत्पन्न भएको छ । उपत्यकाका तीन जिल्ला र अन्य केही जिल्लाबाट पठाइएको महाधिवेशन प्रतिनिधिको नामावली संस्थापन पक्षले हेरफेर गरेको आरोप लागेपछि विवाद उत्पन्न भएको हो । जसका कारण बन्दसत्र पनि अघि बढ्न सकेको छैन भने निर्वाचन प्रक्रिया पनि अवरुद्ध भएको छ ।

नयाँ नेतृत्व चयनका लागि भोलि हुने तय गरिएको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ९ बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुनुपर्नेमा अहिलेसम्म मतदाता नामावली समेत प्रकाशित हुन सकेको छैन । प्रतिनिधिहरुको नामावली हेरफेरको विवाद मिलाउन उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बुझिएको छ ।

यस्तै उम्मेदवारको मनोनयन दस्तुर बढी तोकिएको विषयमा पनि महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

नयाँ नेतृत्वमा बहालवाला अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देनले चुनौती दिनुभएको छ । दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिने तयारीमा रहेका छन् ।