
काठमाडौं, मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको छ ।
विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न माओवादीको विकल्प नरहेको बताउनु भएको हो । उहाँले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताउनुभयो ।
अध्यक्ष दाहालले नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताउनुभयो । उहाँले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दावी गर्नुभयो ।
अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरुलाई कुकुरको पुच्छरसँग तुलना गर्नुभयो । उहाँले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताउनुभयो ।
अध्यक्ष दाहालले देशभर अहिले झण्डै ८ लाख सदस्यहरु नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो संख्या १० लाख पुग्ने दाबी गर्नुभयो । अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा माओवादीकै भएको बताउँदै केही समय काठमाडौं केन्द्रित भएर नेताहरुको काम गर्दा घाइते, अपाङ्ग र शहीदहरुप्रतिका एजेण्डा बिर्सिएर गल्ति गरेको भन्दै अब गल्ती नदोहोरिने प्रतिवद्धता गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्