
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका उपदेशलाई आ–आफ्ना पाठ्यक्रममा समावेश गर्न विभिन्न विश्वविद्यालयहरुलाई आग्रह गर्नुभएको छ ।
बिहिबार लुम्बिनीमा लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्नसके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले २६ सय वर्षदेखि एशिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरी फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दै गएको बताउनुभयो ।
उहाँले नेपालबाट ठूलो संख्यामा अध्ययनका लागि विदेश जानहरुलाई रोक्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्