
काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विक्रम पाण्डे दुवै समूहको रोजाइमा पर्नुभएको छ । कमल थापा र राजेन्द्र लिङ्देनको समूहबाट पाण्डेलाई छुटाएका छैनन् ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी पेश गर्नुभएको छ । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीको दावी छ । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिँदै थापाले राप्रपालाई आगामी दिनमा कहिल्यै फुट्न नदिने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाको उम्मेदवारी परेको छ ।
राजसंस्था र हिन्दू राष्ट्र चाहिन्छ भन्ने राप्रपा बाहिरका सबैलाई ६ महिनाभित्र एकीकृत गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने जिकिर गर्नुभयो ।
१९९ सदस्यीय केन्द्रीय समितिका १४९ जना राप्रपाले निर्वाचनबाट चयन गर्नेछ । जसमा अध्यक्षसहित ८ पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मंसिर १५ गते सुरु भएको अधिवेशनमा शनिबार मतदान हुने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्