१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गुट व्यवस्थापन नभए पौडेललाई सभापति पद मुस्किल


13
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरू पार्टीभित्र आ–आफ्नो राजनीतिक भविष्य कसरी जोगाउने भन्ने रणनीतिमा छन् ।

२०७८ को मंसिर महिना राजनीतिक दलहरूको महाधिवेशनको महिना भएको छ । संसदमा सबैभन्दा ठूलो दल एमालेको १०औं महाधिवेशन केही दिन अघि सकिएको छ भने पूर्वपञ्चहरूको पार्टी भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन चलिरहेको छ ।

मुलुककै सबैभन्दा जेठो पार्टी कांग्रेसको महाधिवेशन भने मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि कांग्रेसले पार्टीका केही जिल्लाबाहेक सबै तहका अधिवेशन सकिसकेको छ । ७ वटा प्रदेशको नेतृत्व चयनको काम शनिबार हुँदैछ । त्यसपछि कांग्रेस महाधिवेशनमा पूर्ण रूपमा होमिने छ । महाधिवेशनका लागि कांग्रेस नेताहरू ‘म्याराथन बैठक’ गरिरहेका छन् ।

खासगरी कांग्रेस महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचनै पार्टीको नेतृत्व हत्याउन प्रतिस्पर्धा हुनेछ । महाधिवेशन आउन ८ दिनमात्रै बाँकी रहँदा दुवै पक्षले आफ्नो टीम भने बनाउन सकेका छैनन् । दुवै पक्षमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका धेरै आकांक्षी देखिएका छन् । व्यक्तिगत रूपमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यो अवस्थामा देउवा र पौडेल पक्षलाई गुट व्यवस्थापन गर्न निकै सकस भइरहेको छ ।

वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला, महामन्त्री डा.शशांक कोइराला, कल्याण गुरुङ र गोपालमान श्रेष्ठ सभापतिका दावेदार छन् । देउवाले पनि सभापतिमा पुनः दोहोरिने आकांक्षा देखाइसक्नुभएको छ । निधि र गोपालमान बाहेक सबै पौडेल गुटकै उम्मेदवार हुन् ।

निधि देउवाको गुटमै रहे पनि देउवालाई छोडेर सभापतिका लागि अघि बढिसक्नुभएको छ । उता गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने बताइसकेका छन् । तर, देउवा वा पौडेल कुन समूहबाट भने तीनै जनाले स्पष्ट खुलाएका छैनन् । त्यसैगरी अरु नेताहरूले पनि व्यक्तिगत रूपमै विभिन्न पदमा उम्मेदवारी दिने क्रम जारी छ ।

सत्ता र शक्तिमा रहेकाले नेताहरूलाई विभिन्न आश्वासन दिएर गुट व्यवस्थापन गर्न देउवालाई सहज होला । तर, सत्ता र शक्तिमा नरहनुभएका वरिष्ठ नेता पौडेललाई भने गुट व्यवस्थापन गर्न त्यति सहज छैन । त्यसकारण पौडेलले सभापतिका लागि निकै संघर्ष गर्नुपर्नेछ । त्यसो हुन नसके सभापनि बन्ने सपना टाढै रहनेछ ।

साझा उम्मेदवार छान्नै मुस्किल
पौडेल खेमाले आफ्नो पक्षको सभापति लगायतका अन्य पदहरूमा साझा उम्मेदवार हुने बताए पनि अहिलेसम्म त्यसको सम्भावना देखिएको छैन । सभापतिमा स्वयं पौडेल आफैँ आकांक्षी हुनुहुन्छ भने प्रकाशमान सिंह आफ्नो प्रचार अभियानमा जुटिसक्नुभएको छ ।

डा. शेखर र शशांक कोइरालाले औपचारिक रूपमा उम्मेदवारी घोषणा भने गर्नुभएको छैन । तर, दुवैले आकांक्षा भने देखाउनु भएको छ । कल्याण गुरुङ पनि आफ्नो प्रचारमा लागिसक्नुभएको छ । पौडेलले सबैलाई मिलाएर आफू साझा उम्मेदवार बन्नु पर्ने या अरु कसैलाई साझा उम्मेदवार बनाउनुपर्नेमा त्यसो गर्न सक्नुभएको छैन ।

सभापतिमा उम्मेदवारी दिनुभएका पौडेल गुटकै नेता गुरुङले आफू सभापति पदको उम्मेदवारीबाट पछि नहट्ने ईमेजखबरसँग बताउनुभयो । अर्का आकांक्षी सिंहले पनि सभापतिका लागि आफूलाई सबैले बाटो खाली गर्नुपर्ने बताउँदै आउनुभएको छ ।

पौडेलले आफ्नै गुट उपगुटमा रहेका नेतालाई मनाउन नसकेको खण्डमा उहाँले सभापतिमा जित्न निकै मुस्किल हुनेछ । यो पटक सभापति नजिते पौडेलले अर्काे महाधिवेशनमा सभापति पद पाउने सम्भावना शून्यप्राय छ । पौडेललाई अरुले छोड्ने सम्भावना पनि साँघुरिदै गएको छ ।

१५औं महाधिवेशनमा पौडेल ८१ वर्ष
आफ्ना समकक्षी देउवा पार्टी सभापति र प्रधानमन्त्री भइसक्दा पनि वरिष्ठ नेता पौडेल भने त्यहाँ पुग्न सक्नुभएको छैन । १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला र देउवा मिल्दा सभापतिमा देउवाले बाजी मार्नुभएको थियो ।

केही महिना अघि रामचन्द्र पौडेल पक्षमा देखिनुभएका सिटौला फेरि देउवातिरै ढल्किनुभएको छ । तर, सिटौलालाई आफूसँगै राखिराख्न पौडेलले सक्नुभएको छैन । पौडेल उमेरले अहिले ७७ वर्ष पुग्नुभयो । कांग्रेसको १४औं महाधिवेशनमा सभापति नबने पौडेलका लागि सभापति पद टाढा हुनेछ ।

कांग्रेसको १५औं महाधिवेशन २०८२ सालपछि हुनेछ । त्यतिबेला पौडेल ८१ वर्ष पुग्नुहुनेछ । अहिले नै दोस्रो पुस्ताका धेरै नेताले नेतृत्वमा आकांक्षा राख्दा पौडेललाई त्यो उमेरमा सभापति बन्न सजिलो हुने छैन ।

जोखिममा पौडेलको राजनीति
कांग्रेसमा अझै पनि सभापति एवं प्रधानमन्त्री देउवा गुट बलियो छ । देउवालाई चुनौती दिन पौडेल गुट एकजुट भएमा मात्रै सम्भव छ । नत्र सम्भव छैन । स्थानीय तह, प्रदेश र संघीय तीनै तहको निर्वाचन पनि आउँदैछ । यस्तो अवस्थामा आगामी निर्वाचनमा देउवाले पौडेललाई प्रधानमन्त्रीमा अघि सारेर आफू सभापति मात्रै बन्ने सम्भावना निकै कम छ ।

यदि कांग्रेसले बहुमत ल्याए वा ठूलो पार्टी बनेमा देउवा सभापति र प्रधानमन्त्री दुवै आफैं हुने दाउमा हुनुहुन्छ । देउवाले पौडेललाई पक्कै पनि सहज रूपमा प्रधानमन्त्री बन्न अघि सार्नुहुने छैन । यस कारण पनि पौडेलको राजनीति जोखिममा छ ।

कतिपय कांग्रेस नेताले पौडेललाई अभिभावकीय भूमिका निभाएर सर्वाेच्च नेता भएर राष्ट्रिय राजनीतिको केन्द्रमा बस्न पनि सुझाव दिएका छन् । आफ्ना समकक्षी देउवा अहिले पाँचौंपटक प्रधानमन्त्री बनेर मुलुक हाँकिरहेका बेला पौडेल भने तलै हुनुहुन्छ ।

पौडेलका गुण र दोष
कांग्रेसमा मात्रै नभएर पौडेल नेपाली राजनीतिमा सादगी र सरल नेता मानिुनुहुन्छ । कांग्रेसमा वैचारिक रूपमा बहस गर्न अहिले पौडेल जतिका नेता छैनन् । पौडेल निकट एक नेताका अनुसार अहिलेको संविधान र परिवर्तनलाई भित्रैबाट समर्थन र आत्मसाथ गर्ने केही व्यक्ति मध्येमा पौडेल पनि पर्नुहुन्छ ।

लोकतन्त्रलाई जसरी पनि बलियो पार्नुपर्छ भन्ने मान्यता पौडेलको छ । संविधान, परिवर्तन र लोकतन्त्रप्रति पौडेल प्रतिवद्ध नेताको रूपमा चिनिनुहुन्छ । समकालीन नेतामा पौडेललाई ‘भिजन’ भएको नेता मानिन्छ । विगतमा पौडेल सरकारमा हुँदा उहाँले ग्रामीण स्वावलम्बन कार्यक्रम ल्याउनुभएको थियो । त्यतिबेला यो कार्यक्रमले निकै चर्चा पाएको थियो ।

प्रतिपक्षलाई जवाफ दिनुपर्दा पौडेल गतिलैसँग दिनुहुन्छ । ७७ वर्षको उमेरमा पनि पार्टीमा खट्नुभएका पौडेल कार्यकर्तालाई नामै सम्झेर बोलाउनुहुन्छ । त्यसैले पौडेललाई इमान्दार कार्यकर्ताको साथ छ । कांग्रेसका संस्थापक वीपी कोइरालाले अघि सारेको नीति र सिद्धान्तमा पौडेल अडिग हुनुहुन्छ ।

तर, पौडेलका अवगुण पनि छन् । कार्यकर्ताको संरक्षण गर्न नसक्ने, सबैलाई अविश्वासको दृष्टिले हेर्ने, लाभको पदमा तत्कालै लोभ गरिहाल्ने, परिवारलाई मात्रै अघि बढाउन खोज्ने सानो चित्त भएको आरोप पौडेलमाथि लाग्ने गरेको छ ।

पौडेलको भागमा राष्ट्रपति !
२०४८ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा पौडेल शिक्षामन्त्री बन्नुभएको थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा उहाँ उपप्रधानमन्त्री बन्नुभयो भने २०५१ मा सभामुख, २०५७ मा उपप्रधान तथा गृहमन्त्री, २०६३ मा शान्ति तथा पुनर्निर्माणमन्त्रीजस्ता लाभको पदमा प्राप्त गर्नुभएको थियो ।

विसं २००१ सालमा तनहुँको बाहुन पोखराको किसान परिवारमा जन्मनुभएका पौडेलले कांग्रेसमा लागेर राजनीति गर्दा १३ वर्ष जेलमा बिताउनुभएको छ । उहाँ नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, निरन्तर केन्द्रीय सदस्य, पार्टीको महामन्त्री, उपसभापति र कार्यवाहक सभापति समेत बनिसक्नुभएको छ ।

Sher badr Deuba and Ramchandara poudel

२०६५ मा कांग्रेस संसदीय दलको नेता चुनिए पनि पौडेलको भाग्यमा प्रधानमन्त्री पद भने जुरेन । २०६७ मा प्रधानमन्त्री बन्न खोज्नु भएका पौडेलले १७औं पटकसम्म पराजय व्यहोर्नुपर्यो । त्यस्तै, २०७२ फागुनमा भएको कांग्रेसको १३औं महाधिवेशनमा सभापतिमा देउवासँग पौडेल पराजित हुनुभयो । पौडेललाई राजनीतिमा लागेर अरु पद प्राप्त भए पनि पार्टी सभापति र प्रधानमन्त्रीको पद भने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

अरुका लागि भलो चिताउने गुण नभएकै कारण पौडेललाई छोडेर कार्यकर्ता अरु नेतातर्फ लागेका पौडेलकै समकक्षीहरूको भनाइ छ । कांग्रेस नेताहरू पौडेललाई यदि आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याएमा राष्ट्रपति बनाउन सकिने आँकलन पनि गर्छन् । पार्टी सभापति वा प्रधानमन्त्री हुन नपाएको स्थितिमा राष्ट्रपति पद पौडेलका उपयुक्त हुन्छ । तर, त्यो संभावना पनि टाढा नै देखिन्छ ।

तीनै तहको निर्वाचनमा कांग्रेसको अवस्था के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पौडेलले १४औं महाधिवेशनमै सभापति जितेमा मात्रै उहाँको राजनीतिक भविष्यमा बहार आउनेछ । तर, गुट नै व्यवस्थापन गर्न नसके त्यो पनि सम्भव छैन । पौडेल गुट एकजुट भएमा मात्रै देउवालाई टक्कर दिन सक्नेछ । नत्र देउवालाई सभापतिमा रोक्न त्यति सहज छैन ।