
ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा परि घाइते भएका ४ जना मध्य सिरीजंघा गाउँपालिका ३ का २५ वर्षिय बसन्त लिम्बू र सोहि ठाउँकै १५ वर्षिय समीर लिम्बूको उपचारका क्रममा निधन भएको हो ।
बसन्त लिम्बूको धरान स्थित घोपा क्याम्पमा र समीरको सिरीजंघा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा साँझ निधन भएको हो । अन्य २ जनाको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
चालक अमिन लिम्बूको धरान र सुसन लिम्बूको तेल्लोकमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो सिरीजंघामा पर्ने ओरक्पाबाट बोखिम तर्फ गोलिया बोकेर जाने क्रममा मे १ त ६८९३ नम्बरको ट्याक्टर अचानक सडकबाट २ सय मीटर मुनी झरेको थियो ।
घाइते भएका सबै ट्याक्टरमा सवार थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्