
काठमाडौं, माघ ९ । गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्रेको छ ।
पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट मनाङ्गेलाई बिहीबार दिउँसो सादा पोशाकमा खटिएका प्रहरीले पक्रेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको जानकारी दिए ।
मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।
बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए । मनाङबाट आएका खेलाडीको व्यवस्थापनका लागि आफूले मागेको खर्च नदिएको भन्दै उनले कुटेका हुन् ।
प्रतिक्रिया दिनुहोस्